नेपाल आएकी विपना भन्छिन्–‘अब निरन्तर फिल्म गर्छु’


भारतमा रहँदै आएकी नायिका विपना थापा बिहिबार बेलुकी नेपाल आइन् । काठमाडौंमा आयोजना हुन लागेको एक अवार्ड समारोहमा भाग लिन उनी नेपाल आएकी हुन् । नेपाल आएकी विपनाले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अब आफूले निरन्तर फिल्ममा काम गर्ने बताएकी छिन् । 

उनले भनिन्–‘अब छोरा ठूलो भइसकेको छ । यसैले, म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’

विपनाले फिल्म ‘ह्रस्व दीर्घ’ साइन गरेकी छिन् । यो फिल्मको दोस्रो चरणको छायांकनमा विपना जोडिने छिन् । विपनाले अरु केही फिल्ममा पनि कुरा भैरहेकाले आफूलाई सुहाउँदो भूमिका आएको खण्डमा काम गर्ने बताएकी छिन् । 

विपनाले आफूलाई सबैथोक नेपाल देशले नै दिएको भन्दै कहिलेकाही सबै कुरा छाडेर नेपाल फर्किन मन लाग्ने तर्क गरिन् । ‘स्पर्श म्युजिक भिडियो अवार्ड’मा विपनालाई सम्मान गर्ने कार्यक्रम छ । सोही अवार्डका लागि विपना नेपाल आएकी हुन् । 

एक दशक भन्दा अगाडि नेपाली फिल्म क्षेत्रमा विपनाको राम्रो क्रेज थियो । उनले अभिनय गरेका थुप्रै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । उनै, विपना बिहे गरेपछि भने भारतमा बस्न थालेकी हुन् । यसपछि भने विपनाको फिल्ममा उपस्थिति हुन छाडेको हो ।