फिल्म बनाउने हल्ला गरेर निर्माता खोज्दै भुवन केसी


नायक भुवन केसीले नयाँ नाममा फिल्म बनाउने घोषणा गरे । पत्रकारहरुसँगको भेटघाटका क्रममा उनले आफूले अब भदौको १० गतेबाट होम प्रोडक्शनको फिल्म बनाउने बताए । यो फिल्मको कथा बलियो भएकाले पनि काम गर्न आफू अग्रसर भएको भुवनको भनाई थियो । फिल्म ‘ड्रिम्स’पछि भुवन केसी आफै दोश्रो पटक फिल्म निर्देशन गर्ने तयारी गर्दैछन् । 

भुवन केसीले फिल्म बनाउने घोषणा गरेपनि उनको फिल्ममा लगानी कसले गर्छ कुनै टुंगो लागेको छैन । यता, भदौबाट नै नायक अनमोल केसीले रोहित अधिकारीको फिल्म ‘फर्कि फर्कि’मा काम गर्ने संझौता गरेका छन् । तर, भुवन र अनमोल दुबैले पहिले घरको फिल्म गरेर मात्र रोहितको फिल्म गर्ने बताइरहेका छन् । 

एकातिर, निर्माता रोहित अधिकारी फिल्म बनाउन तयार भएर बसेका छन् । अर्कोतिर, रोहितको फिल्मलाई अड्को थाप्न अग्रसर भुवनले आफ्नो फिल्मका लागि निर्माता समेत फाइनल गर्न सकेका छैनन् । श्रोतका अनुसार, उनी अहिले निर्माता खोज्न थालेका छन् ।

भुवन फिल्ममा लगानीको अफर गर्दै ओएसआर डिजिटलका मालिक ओम अग्रवालसम्म पुगेका थिए । ओम अग्रवाल भने रोहितको फिल्ममा लगानी गर्ने पक्का भएर बसेका छन् । 

आफ्नो फिल्मको निर्माता समेत अहिलेसम्म फाइनल गर्न नसकेका भुवन केसी, छोरा अनमोल केसीले साइन गरेर पक्का भएको फिल्मलाई पछि धकेलेर पहिले आफ्नो फिल्म बनाउने दौडमा छन् । यस्तो अवस्थामा भोली दुबै फिल्मको काम रोकियो भने घाटा अनमोललाई नै हुनेछ । आखिर, यस्तो कुरा अनमोलले कहिले वुझ्लान् त खै ।