‘हुक्काः एन एब्सर्ड ड्रिमले मनोविज्ञान बोकेको छ’

नाटक, टेलिफिल्म निर्देशन र फिल्ममा सहायक निर्देशनको अनुभव संगालिसकेका शम्भु थापा आफ्नो पूर्ण निर्देशकीय फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ लिएर आगामी जेठ १२ गते दर्शकमाझ आउँदैछन् । अघिल्लो फिल्म ‘धौली’मा लगानी सँगै मुख्य सहायक निर्देशनको अनुभव लिएका शम्भुलाई पूर्ण निर्देशकीय क्षमता देखाउन उत्साह र चुनौती दुवै उत्तिकै थियो । तर, दुवै कुरा उनले सजिलै पुरा गरे । 

‘मेरो रुची फिल्म निर्माण नै हो । तर कतिपय अवस्थामा हामीले भनेजस्तो नहुने रहेछ । ‘धौली’ टिमसँग मिलेर पुनः फिल्म बनाउने योजना बनाए पनि आफूले सोचे अनुसार हुन सकेन । त्यसपछि आफैं निर्देशनमा अघि सरें’, शम्भु भन्छन्,‘हुक्काः एन एब्सर्ड ड्रिम गाउँले परिवेशमा निर्माण गर्नुपर्ने थियो । हामीले नजिकका निर्देशकसँग पनि कुरा गरेको हो । तर उहाँहरु अन्य काममा व्यस्त रहेकाले हामीलाई समय दिन सक्नुभएन ।’

कथावस्तु
शम्भुको बुझाईमा फिल्मको नाममा मानिसको आ–आफ्नो बुझाई भए पनि यसको विषयवस्तु फरक छ । ‘हुक्काः एन एब्सर्ड ड्रिमले एउटा मनोविज्ञान बोकेको छ । फिल्म हुक्काबाट सुरु भएर हुक्कामा नै सकिन्छ । फिल्मले एउटा आडम्बर पनि देखाउँछ’, शम्भु खुल्छन्, ‘अग्रजले जानेर वा नजानेर गरेका कामले बालबालिकाको मानसपटलमा कस्तो प्रभाव पार्छ । त्यसले कस्तो परिणाम ल्याउँछ भन्ने कुरा फिल्ममार्फत देखाएका छौं ।’ 

शम्भुले दर्शकले फिल्म हेरिरहँदा पर्दामा देखिएका पात्रसँग आफूलाई जोड्ने दाबी गरे । उनले अग्रजले बच्चाको अगाडि हुक्का खाँदा बच्चाको दिमागमा पर्ने मनोवैज्ञानिक असरलाई देखाउने बताए ।

शम्भुका अनुसार फिल्ममा अभिनेत्री प्रमिलालाई सशक्त रुपमा चित्रण गरिएको छ । फिल्ममा प्रमिलाको निडर, सक्षम र आँटिलो चरित्रले समाजका महिलालाई सकारात्मक उत्प्रेरणा दिने शम्भुको बुझाई छ ।

पात्र छनोट
फिल्मका लागि अभिनेता सन्तोषकुमार आत्रेय, शम्भु र मुख्य सहायक निर्देशकले भगवान पौडेलले पात्र छनोट गरेका हुन् । शम्भुका अनुसार फिल्मको स्क्रिप्ट लक भएपछि कलाकारको प्रोफाइल तयार पारेर छनोट गरिएको थियो । ‘हामीले अडिसन लिने पनि काम ग¥यौं । धेरै जना अडिसनका लागि आउनुभएको थियो । कतिपयले भने अडिसन दिन गाह«ो मान्नुभयो’, शम्भु भन्छन्, ‘हामी सकेसम्म थिएटरकै कलाकार लिने सोचमा थियौं । पोखरामा पनि थिएटर चलिरहेको छ । त्यहाँ पनि हामीले समन्वय ग¥यौं । पुराना र नयाँ कलाकारलाई राख्दा तालमेल मिलाउन गाह«ो हुने भएपनि नयाँ कलाकारलाई प्राथमिकता दियौं । नयाँ कलाकार राख्दा उनीहरुलाई हौसला मिल्ने र दर्शकले पनि अग्र्यानिक कथाको स्वाद पाउने निश्कर्षमा पुग्यौं । ’

दर्शक सर्वे
यो फिल्मका लागि निर्माण पक्षले दर्शक सर्वे पनि गरेको थियो । निर्देशक थापाले कन्टेन्ट अनुसार फिल्ममा कस्तो कलाकार राख्दा राम्रो हुन्छ भनेर सर्वे गरेको खुलाए । ‘कन्टेन्ट राम्रो छ भने नयाँ कलाकारहरुलाई लिएर बनाएको फिल्मले पनि राम्रो व्यापार गर्छ भन्ने उदाहरण नेपालमा छ । त्यस्ता फिल्मले राम्रो प्रतिक्रिया पनि पाएको छ । त्यहीकारण दर्शक सर्वे गरेका थियौं’, उनले भने । 

लक्षित दर्शक
निर्देशक थापा आफ्नो फिल्म सबै वर्गका दर्शकले हेर्नुपर्ने धारणा राख्छन् । ‘हाम्रो फिल्म कलेजका विद्यार्थी, समाजका प्रतिष्ठिट व्यक्ति र राजनीतिक व्यक्तिसँगै सरकारले पनि हेर्नुपर्छ । फिल्म हेरेपछि सरकारलाई पनि समाजको वास्तविक अवस्था र हाम्रो आर्थिक अवस्था सुधार्नका लागि धेरै सहज हुन सक्छ’, शम्भुको दाबी छ ।

नाटक हुँदै फिल्ममा शम्भु
शम्भु २०५१ सालदेखि पोखरामा नाट्य गतिवधिमा सक्रिय थिए । उनले पोखरामा सडक नाटकमात्र देखाएनन्, टेलिफिल्म पनि निर्माण गरे । बाहिरबाट आएका व्यक्तिहरुसँग वृत्तचित्र बनाउनेदेखि सुटिङका लागि काठमाडौंबाट आउने समूहको व्यवस्थापनको काम पनि गरे । 

शम्भुले मनोजबाबु पन्तबाट निर्देशन र प्राविधिक ज्ञान धेरै जानकारी लिए । उनले फिल्मका कार्यशाला मात्र गराएनन्, त्यो बेलाको फिल्म सोसाइटीसँग आबद्ध भएर निर्देशनदेखि अन्य गतिविधिहरुमा सक्रिय रहे । उनले प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँलगायतका फिल्मकर्मीबाट निर्देशकीयदेखि फिल्म निर्माणको तरिका बुझे ।