भूँइको टिप्न खोज्दा गोजीको झर्ला नी अनमोल ?


हामीले बारम्बार लेख्दै आएका छौं कि नायक अनमोल केसीले फिल्म साइन गरे भन्दैमा निर्माता ढुक्क हुने अवस्था छैन । किनकी, उनको फिल्मको छायांकन सुरु नभएसम्म त्यो फिल्म बन्छ भन्ने कुनै ग्यारेन्टी नै हुँदैन । उनले, फिल्म साइन गरेर प्रशस्तै छाडेका छन् । यसैले, पनि अनमोलले फिल्म साइन गरेपछि सुटिङ सुरु त होला नी भनेर भाकल गर्नु बाहेक अरु निर्मातासँग विकल्प नै छैन । 

यस्तोमा, नायक अनमोल केसीले रोहित अधिकारी फिल्मस्को ब्यानरमा बन्ने नयाँ फिल्म ‘फर्की फर्की’ साइन गरे । अनमोलले फिल्म साइन गरेपछि निर्माता रोहितले स्पष्टिकरण नै दिनुपरेको थियो । 

उनै, अनमोलले भदौको १० गतेबाट छायांकनमा जाने भनिएको आफ्नै होम प्रोडक्शनको फिल्म पहिले गर्ने बताएका छन् । भुवन केसीले भदौबाट नयाँ फिल्म बनाउने बताइरहेका छन् । हुनत, भुवनले यस्तो भनेको यो चौथो प्रोजेक्ट हो । यसैले, भुवनले भदौबाट फिल्म बनाइहाल्छन् भनेर पनि विश्वास गर्ने ठाउँ छैन । 

यस्तो अवस्थामा अनमोल भने साइन गरेका फिल्मलाई होल्डमा राखेर घरको फिल्मको प्रतिक्षा गरिरहेका छन् । एकातिर, अनमोललाई फिल्म साइन गराएका निर्माता उनको डेट पर्खिरहेका छन् । अर्कोतिर, अनमोल बन्ने वा नबन्ने पक्का नभएको घरको फिल्म गरेर मात्र अरुको फिल्म गर्ने अडानमा छन् । यस्तो अवस्थामा भोली दुबैतिरबाट हाता लाग्यो शुन्य हुने अवस्था आउन सक्छ । 

‘भूँइको टिप्न खोज्दा गोजीको खसेको’ पत्तै नपाउने अवस्थाले अनमोललाई बारम्बार धोका भैरहेको छ । फेरि पनि नहोला भन्ने ग्यारेन्टी के छ र ?