निश्चलले सुरु गरे ‘दिमाग खराब’को सुटिङ, सेटमा स्वस्तिमा र खगेन्द्र


फिल्म ‘लूट २’पछि नयाँ फिल्मको निर्देशन गर्ने हिम्मत नगरेका निर्देशक निश्चल बस्नेत अन्ततः ‘दिमाग खराब’बाट निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्मको सोमबार शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ । बुढानिलकण्ठ मन्दिरमा फिल्मको शुभसाइत गरिएको थियो । फिल्मको छायांकन भने काभ्रेबाट सुरु भएको छ । 

निर्देशक बस्नेतले ४० दिनमा फिल्म सक्ने योजना बनाएका छन् । यो फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल लगायतका कलाकारको अभिनय रहनेछ । 

फिल्मले शक्ति र जनताको कथा भन्ने बताइएको छ । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा यो फिल्मको निर्माण हुनेछ । स्वस्तिमाले निश्चलको  निर्देशनमा पहिलो पटक फिल्ममा काम गर्न लागेकी हुन् ।

यसअघि उनीहरुले फिल्म ‘घामड शेरे’मा कलाकारको रुपमा एकसाथ काम गरेका थिए । सुशन प्रजापतिको छायांकनमा तयार हुने यो फिल्मलाई कार्तिकको २४ गतेबाट रिलिज गर्ने तयारी निश्चलको छ ।