फेरि सुक्यो फिल्मी माहोल, दर्शक कस्ता फिल्म खोजिरहेका छन् ?
जेठको पहिलो साता रिलिज भएका २ फिल्म ‘डाकिनी र ए साथी सुन’ हलमा लागेको पनि दर्शकले पत्तो पाएनन् । दुबै फिल्म हल्लाखल्ली विना नै रिलिज भएकाले दर्शकले फिल्म चलेको थाहा नै पाएनन् ।
यस्तो हविगत अझै कतिवटा फिल्मको हुने हो थाहा छैन । नेपाली फिल्मको यस्तो अवस्थाले फेरि हलमा सुनसान माहोल निम्त्याएको छ । एकातिर, बलिउडका फिल्म पनि गतिलो नआउनु अर्कोतिर नेपाली फिल्मको व्यापार पनि न्यून हुनुले प्रदर्शकहरुलाई पनि चिन्तित बनाएको छ ।
वैशाखको १ गते रिलिज भएको फिल्म ‘जारी’ हेर्ने दर्शक पनि अब लगभग सकिएका छन् । यसपछि रिलिज भएका कुनै पनि फिल्मले दर्शकको साथ पाएनन् । ‘प्रसाद २, ज्याकीः आई एम ट्वान्टी वान’ नचल्दा फिल्म क्षेत्र नै अचम्मित छ । ‘हल्कारा’ नामक फिल्मले सामाजिक संजालमा चर्चा पायो, तर हलमा दर्शक आएनन् ।
यसरीहेर्दा, दर्शक कस्तो खालको फिल्म कुरिरहेका हुन् भन्ने प्रश्न पनि उठ्न सक्छ । यो बर्षको सुरुवातमै रिलिज भएको फिल्म ‘जारी’लाई नै हेरेर आँकलन गर्ने हो भने पनि दर्शकहरु अर्गानिक कथा, नाम चलेका मेकर र कलाकारलाई रुचाइरहेका छन् कि भन्ने देखिन्छ ।
यो महिना केही फिल्म रिलिजको क्रममा छन् । असारको १५ गते फिल्म ‘परस्त्री’ रिलिज हुँदैछ । यसपछि भदौ महिनामा नै धेरैको आँखा छ ।
प्रतिक्रिया