‘एन्टी हिरो’मा पुरा नभएको अनमोल–जसिताको सहकार्य ‘फर्की फर्की’मा पक्का


नायिका जसिता गुरुङलाई निर्देशक तथा निर्माता भुवन केसीले फिल्म ‘एन्टी हिरो’को मुख्य नायिका बनाए । जसितासँग कागजी संझौता समेत गरेका भुवनले लभ स्टोरी कथामा यो फिल्म बनाउने तयारी गरेका थिए ।

यो फिल्ममा नायक अनमोल केसी र नायिका जसिता गुरुङको जोडीले काम गर्ने पक्का भएको थियो । तर, यो फिल्म बनाउन भुवन केसीले सकेनन् । यसपछि, भुवनले नयाँ फिल्म ‘पारस’को घोषणा गरे । ‘एन्टी हिरो’की नायिका जसितालाई भुवनले यो फिल्मका लागि अफर गरे । तर, यो फिल्म पनि बन्ने वा नबने पक्का भएको छैन । 

तर, अनमोल र जसिताको जोडीलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना भने निर्माता रोहित अधिकारीले पुरा गर्ने भएका छन् । रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘फर्की फर्की’मा अनमोल र जसिताले काम गर्ने पक्का भएको छ । दुबै कलाकारसँग रोहितले कागजी संझौता गरेका छन् । 

यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । सुयोगले यसअगाडि फिल्म ‘सानो मन’ निर्देशन गरेका थिए । अनमोलले यो फिल्मको कथालाई निकै मन पराएको वुझिएको छ । यसैले पनि अनमोल फिल्म साइन गर्न आफै बढी इच्छुक रहेका थिए । 

यो फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु गर्ने तयारी रोहितको छ । तर, यदि पानीले दुःख दिएको खण्डमा भदौमा फिल्मको छायांकन पुग्नेछ । 

यो फिल्मको छायांकन नेपालमै हुनेछ । लभ स्टोरी कथामा तयार हुने यो फिल्मको नाम पहिले ‘डेजाभु’ राखिएको थियो । तर, पछि नाम परिवर्तन गरेर ‘फर्की फर्की’ राखिएको हो । रोहितले खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर नयाँ फिल्म ‘बरिष्ठ बलराम’ निर्माणको घोषणा पनि गरिसकेका छन् ।