फन्डाले काम नगरेपछि दृश्य काँटेरै नवलले गरे ‘काँडेतार’को सेन्सर पास


फिल्म निर्माता तथा निर्देशक नवल खड्का फन्डा मच्चाएर फिल्म चलाउन माहिर मानिन्छन् । आफूले निर्माण गरेका फिल्मको बिषयमा हुँदै नभएको फन्डा मच्चाएर बजार तताउने उनको सोच पुरानै हो । 

उनले, निर्माण गरेको नयाँ फिल्म ‘काँडेतार’को बिषयमा पनि उनले अनावश्यक फन्डा मच्चाए । नेपाल सरकारले यो फिल्म रिलिज नै गर्न नदिएको भन्दै उनले २ पटक त पत्रकार सम्मेलनको आयोजना गरे । नेताहरु भीम रावल, ज्ञानेन्द्र शाहीलाई बोलाएर फिल्मको बिषयमा बोल्न लगाए । नेताहरुले पनि फिल्मको कुन दृश्यलाई चलचित्र सेन्सर बोर्डले काट्नु भनेको भन्ने नै नवुझी बोले । 

तर, मिडियामा जति नै फन्डा गरे पनि दर्शकले फिल्मप्रति त्यती साह्रो चासो देखाएनन् । उनै, नवल अन्ततः सेन्सर बोर्डले पहिले नै काट्नु भनेका दृश्य काटेर सेन्सर गर्न वाध्य भए । 

चलचित्र सेन्सर बोर्डले उनलाई ‘भारतको नियन्त्रणमा भुटान छ’ भन्ने संवाद, गृह मन्त्रालयको भवन देखाइएको दृश्य काट्न भनेको थियो । उनले यी कुराहरु मिडियामा कहिले पनि गरेनन् । बरु, नेपाल सरकारले नै फिल्म रिलिज गर्न नदिएको भन्दै मिडियाबाजी गरे । 

अन्ततः सेन्सर बोर्डले भनेका दृश्य काटेर उनले फिल्मको सेन्सर सर्टिफिकेट लिएका छन् । यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।