नाफाको अपेक्षा नगरी सीमित हलमा मात्र प्रदर्शन हुँदै ‘डाकिनी’

षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म ‘डाकिनी’ यही जेठ ५ गतेदेखि केही हलमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षका अनुसार बौद्ध धर्म ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का धेरै मिथक र दन्त्यकथा भएजस्तै फिल्मले यस्तै देवीको खोजीको कथा प्रस्तुत गर्नेछ । 

फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले फिल्मलाई व्यावसायिक प्रायोजनले भन्दा पनि हेर्न चाहने दर्शकका लागि लक्षित गर्दै रिलिज गर्न लागिएको बताए । ‘हामीले निकै मेहनत गरेर फिल्म बनाएका छौँ । तर, हामीलाई यस फिल्मबाट नाफाको अपेक्षा छैन । आर्ट अनि सुस्त गतिको फिल्म मन पराउनेले हेर्न पाउन् भन्ने चाहनाले यो फिल्म ५ देखि ६ वटा हलमा मात्र रिलिज गर्न लागेको हौं’, उनले भने, ‘आर्टलाई सेलिब्रेसन गर्नका यो फिल्म प्रदर्शन गर्न लागेका हौं ।’

कोरोनाको कारण ५ वर्षपछि रिलिज गर्न लागिएको फिल्ममा खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)को लेखन र निर्देशन छ । उनी बौद्ध धर्मका ठूला गुरुसमेत हुन् ।

यो फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाममा विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भइसकेको छ । यो फिल्म रिलिजसँगै रिम्पोछे अमेरिकादेखि नेपाल आउँदै छन् ।
रिम्पोछेको पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास र बौद्धस्थित लिच्छवी हाउसमा ‘बुद्ध र भिखारी’ नाटकसमेत मञ्चन हुने निर्माता खत्रीले जानकारी दिए ।

अर्का निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाले फिल्म निर्माणमा साढे ९ करोड खर्च भएको बताए । ‘हामीलाई पैसाको रिस्क नलिइकन फिल्म बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । पैसा उठाउनु पनि पर्छ भन्ने कुराले हामी कति कुरोमा सम्झौता गर्छाै’, बानियाले भने, ‘निर्देशक खिन्से नोर्बुसँग विना कुनै दबाब काम गर्यौ ।’ 

निर्माता बानियाँले ‘डाकिनी’ नेपाली स्वाद अनुसारको फिल्म नभएको खुलाए । उनले समीक्षकहरुले ‘डाकिनी’ जस्तो फिल्म बनाउनुपर्छ भन्ने सुझाव दिएपछि यही फिल्मलाई रिलिज गर्न लागिएको बताए । ‘यो प्रोजेक्टमा जोडिन पाउनु मेरो लागि ठूलो कुरा हो । उहाँ आध्यात्मिकतामा पनि गुरु र यो फिल्मको पनि गुरु हुँदा दुवै हातमा लड्डु पाएको जस्तो भएको छ’, उनले भने । निर्देशक प्रदीप भट्टराइले फिल्म बुझ्नेका लागि ‘डाकिनी’ उपयुक्त भएको बताए । 

निर्देशक रिम्पोछेको यो पाँचौं फिल्म हो । बौद्ध धर्मबारेका उनका प्रवचन जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि उति नै । सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । 

फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो ।  त्यसैगरि, फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतका नेपाली कलाकारको समेत अभिनय छ। यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ ।

यस फिल्म ताइवानका चर्चित छायाँकार मार्क लि पिङ बिङले खिचेका हुन् । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’ का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए ।

एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क लीले खिचेका फिल्महरु ‘इन द मुड फर लभ’सहित ‘द असासिन’, ‘रेनोयर’, ‘नर्वेजियन उड’, ‘फ्लाइट अफ रेड बेलुन’ चर्चित छन् ।