‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको गेटअपले बढाएको कौतुहलता


चैत्रको १० गतेबाट छायांकन सुरु भएपनि फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन अझै सकिएको छैन । निर्देशक दीपेन्द्र के खनालका अनुसार अझै एक साता फिल्मको छायांकन सक्न समय लाग्नेछ । यसपटक दीपेन्द्रले ६० दिन फिल्म खिचेका छन् । 

दीपेन्द्रले फिल्म ‘पशुपति प्रसाद’को छायांकन १३ दिनमा सकेका थिए । तर, यसको सिक्वेलको छायांकन सक्न उनलाई २ महिना लाग्ने देखिन्छ । 

फिल्मलाई उत्कृष्ट बनाउनका लागि यसपटक दीपेन्द्र र उनको टिमले समय लिएको छ । यो बर्षकै प्रतिक्षित फिल्मको रुपमा रहेकाले पनि ‘पशुपति प्रसाद २ः भष्मे डन’लाई लिएर दर्शकमा उत्साह छ । दीपेन्द्रले बजारको यही दबाब महशुश गरेरै फिल्मको छायांकनमा बढी समय दिएका हुन् । 

यो फिल्मको छायांकन सुरु भएसँगै नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्काको गेटअप बाहिरिएको थियो । तर, अर्का नायक सौगात मल्लको गेटअप भने निर्माण टिमले लुकाएको थियो । 
तर, फिल्मको छायांकन पशुपति परिसर र सडकमा गर्नुपरेपछि सौगातको गेटअप पनि लुक्न सकेन । तर, सौगातको गेटअप सार्वजनिक भएपछि दर्शकमा झनै उत्साह बढेको छ । 

यसपटक, फिल्म दशैंमा रिलिज हुँदैछ । यदि, फिल्मको कथालाई दर्शकले रुचाएपनि बक्स अफिसमा यो फिल्मले पनि ठूलै उछाल ल्याउने टिप्पणी गर्न सकिन्छ । खगेन्द्र लामिछानेले यो फिल्मको निर्माण तथा लेखन गरेका हुन् ।