कुरा भुवन केसीकोः ‘अब नयाँ नाममा लभ स्टोरी फिल्म बनाउँदैछु’


आइतबार दिउँसो सोल्टी होटलमा भेटिएका निर्माता तथा निर्देशक भुवन केसीले नयाँ फिल्म बनाउन लागेको बताए । मेरो फिल्मसँग गफिएका भुवन केसीले अब भदौबाट छायांकन हुने गरि नयाँ प्रेमको कथामा फिल्म बनाउने बताए । उनले, यो कथाले आम मानिसको मन छुने जानकारी गराएका थिए । 

हुनत, भुवन केसीले फिल्म बनाउँछु भनेर मिडियामा गफ दिन थालेको केही बर्ष भयो । यतिसम्म कि, उनले फिल्म ‘पारस’को कथा निक्कै मन परेपछि निर्माता माधव वाग्लेसँग किनेका थिए । भुवनका अनुसार, उनले ३० लाखमा यो फिल्मको कथा किनेका थिए । 

यति मन पराएर किनेको कथामा किन फिल्म नबनाउनुभएको त, मेरो फिल्मको प्रश्नमा उनले भने–‘त्यो भन्दा पनि बबाल कथामा फिल्म बनाउँदैछु । यसैले, अहिले पारसको काम रोकिएको हो ।’

उनको फिल्ममा उनका छोरा नायक अनमोल केसी मुख्य भूमिकामा हुनेछन् । अरु, कलाकार पक्का भएका छैनन् । 

भुवन केसीले फिल्म ‘क्याप्टेन’पछि नयाँ फिल्म बनाउन सकेका छैनन् । बरु, उनले ‘एन्टी हिरो, माइतीघर २, पारस’ बनाउने भनेर मिडियामा समाचार आएको पनि धेरै भैसक्यो । तर, अब यी तिनै फिल्मलाई रोकेर उनी नयाँ नाममा फिल्म बनाउने बताइरहेका छन् । 

अब, निर्माता तथा निर्देशक केसीको कुरा पत्याउने कि नपत्याउने ? किनकी, उनले फिल्म बनाउँछु भनेर ३ वटा प्रोजेक्ट होल्ड गरिसकेका छन् । अब, नयाँ फिल्म बनाउँछु भनेर उनले गफ दिए या के गरे उनलाई नै थाहा होला ।

तर, भुवन केसीको घरको फिल्म र अनमोल केसीले अभिनय गर्ने भनेको फिल्म छायांकन सेटमा नगएसम्म बन्छ या बन्दैन भन्न सकिदैन ।