बक्स अफिस र अवार्डबाट हराएकी साम्राज्ञी


केही बर्ष अगाडि सम्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको हालिमुहाली फिल्मको पर्दामा मात्र होइन, अवार्ड शोजमा पनि हुन्थ्यो । साम्राज्ञी आफ्नो अभिनयदेखि लोकप्रियताका कारण अवार्डमा हाबी हुन्थिन् । कि उत्कृष्ट नायिका, कि पपुलर नायिका ।

साम्राज्ञीको हात अवार्डबाट हाली हुँदैनथ्यो । बक्स अफिसको त के कुरा गर्नु । ‘ड्रिम्स, ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा’ जस्ता फिल्ममा काम गर्दा साम्राज्ञीको क्रेज गजब थियो । 

तर, साम्राज्ञी पछिल्ला बर्षमा भने बक्स अफिसबाट मात्र होइन, अवार्डबाट पनि हराउन थालेकी छिन् । काठमाडौंमा एक साताको अन्तरमा आयोजना भएको एक अवार्ड र एक अवार्डको नोमिनेशनमा साम्राज्ञीको नाम कतै देखिएन । उनको गतबर्ष २ वटा फिल्म रिलिज भएका थिए ।

‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । साम्राज्ञीलाई ‘ह्यारी कि प्यारी’बाट बढी आशा थियो । तर, यो फिल्म पनि बक्स अफिसमा चिप्लियो । 

फिल्म बक्स अफिसमा मात्र चिप्लिएन, यो फिल्मले साम्राज्ञीलाई अवार्डको नोमिनेशनमा समेत उपस्थित गराउन सकेन । 

साम्राज्ञीको हातमा अब ‘नाङ्गो गाउँ’ नामक एउटा फिल्म मात्र छ । यो फिल्ममा पनि उनी मुख्य भूमिकामा होइनन् । यसरी हेर्दा, साम्राज्ञी अवार्ड र बक्स अफिस दुवैबाट हराइरहेकी छिन् । 
उनले, यी दुवै स्थानमा कमब्याक गर्न खुबै मिहिनेत गर्नुपर्ने देखिन्छ ।