वर्षाको ‘ए साथी सुन’को प्रचार छैन, हलमा शो पनि कमजोर


नायिका वर्षा सिवाकोटीको गतबर्ष रिलिज भएका केही फिल्म चलेनन् । फिल्म नचले पनि वर्षाको चर्चा उनको बिहे र डिभोर्सका कारण भयो । तर, वर्षाले सोलो नायिकाको रुपमा अभिनय गरेको फिल्म ‘ए साथी सुन’ शुक्रबारबाट रिलिज हुँदैछ । तर, यो फिल्म रिलिज हुँदैछ भन्ने समेत दर्शकलाई थाहा छैन । 

फिल्मको टिमले न त यसको कुनै प्रचार गरेको छ, न त फिल्मका लागि वर्षाको कुनै दौडधूप छ । बरु, म्युजिक भिडियो रिलिजको समयमा  दौडधूप गर्ने वर्षा फिल्म रिलिजको समयमा भने चुपचाप छिन् । 

हुनत, वर्षालाई यो फिल्मबाट कुनै आशा पनि नभएको देखिन्छ । यसैले, उनले फिल्मको प्रचारमा आफ्नो तर्फबाट पनि कुनै जोडबल गरिनन् । 

वर्षाले फिल्म ‘कामिनो’ साइन गरेर बसेकी छिन् । तर, यो फिल्ममा पनि उनको मुख्य भूमिका भने होइन । 

फिल्म क्षेत्रमा वर्षाको करिअर औसत छ । उनी न त हिट छिन् न त फ्लप । ‘ए साथी सुन’को विषयमा दर्शकले खासै जानकारी त पाएका छैनन् नै । साथमा, यो फिल्मलाई मल्टिप्लेक्सहरुले पनि न्यून शोज दिएका छन् । अधिकांश मल्टिप्लेक्समा फिल्मले १ शो मात्र पाएको छ ।