नेफ्टा अवार्डको नोमिनेशनमा कलाकारकै खडेरी
आइतबार आयोजना भएको ‘११ औं नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रमलाई आयोजकले भव्य बनाउने कसरत गरेको थियो । कार्यक्रममा उपराष्ट्रपतिलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । चलचित्र विकास बोर्डका अध्यक्षदेखि फिल्म क्षेत्रका पुराना कलाकारहरूको बाक्लो उपस्थिति कार्यक्रममा थियो । तर, दुखलाग्दो कुरा के थियो भने, उत्कृष्ट ५ मा परेका अधिकांश फिल्मीकर्मी नै पुगेनन् ।
उत्कृष्ट नायकको टप ५ मा परेका अनमोल केसी, प्रदीप खड्का, विपिन कार्की, दयाहाङ राई, दीपकराज गिरी कोही पनि नोमिनेशन कार्यक्रममा पुगेनन् ।
यस्तै, उत्कृष्ट नायिकाको उत्कृष्ट ५ मा परेका स्वस्तिमा खड्का, अरुणा कार्की, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान, मिरुना मगर कोही पनि उत्कृष्ट ५ कार्यक्रममा देखिएनन् ।
नोमिनेशन घोषणा कार्यक्रममा प्रमाणपत्र लिने फिल्मीकर्मीको त खडेरी नै लागेको थियो । अधिकांश प्रमाणपत्र कि त फिल्मका निर्माता वा अन्य नजिकका साथीहरूले लिइदिएका थिए ।
नेफ्टा फिल्म अवार्ड नेपालकै प्रतिष्ठित फिल्म अवार्डको रुपमा गनिएको छ । तर, यसले आफ्नो विश्वसनियता कतै गुमाउँदै गएको हो कि भन्ने भान हुन थालेको छ ।
नोमिनेशन कार्यक्रममा अधिकांश फिल्मीकर्मी नपुग्नुले पनि यो कुराको संकेत गर्छ । यो बारेमा नेफ्टाको टिमले गम्भीर रुपमा छलफल गर्नुपर्ने देखिन्छ । किनकी, अमेरिका लगेर अवार्ड गर्नु मात्र ठूलो कुरा होइन । त्यसले नेपाली फिल्म क्षेत्रलाई कतिको प्रभाव पार्यो भन्ने पनि मुख्य कुरा हो । ११ औं संस्करणसम्म आइपुग्दा नेफ्टा यसमा कमजोर बनेको भान आम फिल्मीकर्मीलाई हुन थालेको छ ।
प्रतिक्रिया