'हल्कारा' कस्तो फिल्म हो ?

फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो, ‘हल्कारा’ । यो फिल्मले एक हुलाकीको कथा भन्छ । गाउँको एक बेरोजगार जड्याँहा व्यक्तिलाई हुलाकीको जागिर मिल्छ । त्यसपछि ऊ चिठी बाँड्न अर्को गाउँको यात्रामा निस्कन्छ । उसले यस क्रममा नयाँ कामको जिम्मेवारी र चुनौतीको सामना गर्नुपर्छ । यसक्रममा व्यक्तिगत कठिनाइ पनि खेप्नुपर्छ । हुलाकीको भूमिकामा महेश त्रिपाठीले अभिनय गरेका छन् । फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गरिएको छ ।

यो फिल्म नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

फिल्ममा महेश, बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

फिल्मले चिठी आदानप्रदानको कथा देखाउँछ । भलै फिल्मको प्रस्तुतीकरण शैली अलिक ढिलो शैलीको भए पनि कथावाचन तरिका राम्रो छ । खास गरी फिल्मले ग्रामीण भेगमा जन्मिएर त्यहाँको रहनसहनमा हुर्किएका दर्शकलाई छुन्छ । 

सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा हुर्किएका सहरीया पुस्ताका लागि ‘हल्कारा’ केवल ‘हल्का’ मसलामात्र हुनसक्छ । किनकी फिल्मले सहरीया संस्कृतिलाई एक छेउ छोएको छैन । यो फिल्म विशेषत विदेशमा भएका फेस्टिभलका लागि तारिफयोग्य फिल्म बन्यो । किनकी फिल्मले धेरै फेस्टिभलमा सहभागिता जनाउदै केही फेस्टिभलमा अवार्ड नै जित्यो । 

एउटा सामान्य कथाको फिल्मले कसरी अवार्ड जित्यो भनेर कौतुहल बनाउने दर्शकले लागि फिल्म हेरेपछि यसको वास्तविकता बुझ्छन् । किनकी फिल्मका प्रमुख कलाकार महेश त्रिपाठी हुन् वा बिनिता थापा मगर, उनीहरुको अभिनय आफैंमा उत्कृष्ट छ । उनीहरुको लामो संवाद छैन, तर शारीरिक हाउभाउ, टाइमिङ र दुई पात्रको मनोभावले दर्शक मोहित बनाउँछन् ।

पोखरामा त शनिबार फिल्म हेर्नका लागि बस रिजर्भ गरेर वृद्धवृद्धादेखि बच्चाबच्चीसम्म हल पुगेका थिए । नेपाली फिल्म हेर्नकै लागि गाउँबाट दर्शकहरु बस नै रिजर्भ गरेर आएको दृश्य नेपाली फिल्म क्षेत्रमा विरलै देख्न पाइन्छ । पोखराकै सेरोफेरोमा छायांकन गरिएको फिल्म र गाउँकै कथा भएकाले पनि दर्शकहरु त्यसको साक्षी बन्नका लागि बस नै रिजर्भ गरेर हलसम्म आइपुगे ।

फिल्मका बारेमा निर्देशक सुजित बिडारी भन्छन्– ‘जिन्दगीमा एउटा अनन्त÷अनिश्चित पर्खाइको अनुभव गर्न चाहनुहुन्छ भने हल्कारा हेर्नुहोस । कागजमा भएको समवेदना क्यामेरा मार्फत पर्दामा कसरी उतार्न सकिन्छ बुझ्न मन भए हल्कारा हेर्नुहोस । कलाकारहरु कसरी कलाकार हुन छाडेर पात्र बन्छन्, हेर्न मन भए हल्कारा हेर्नुहोस । समग्रमा नेपाली चलचित्रले एउटा गुणात्मक फडको मारेको हेर्न चाहनुहुन्छ भने हल्कारा हेर्नुहोस ।’

फिल्म लेखक विकास सुवेदी भन्छन्– ‘केही कथा भन्न पर्ने हुन्छन् ! केहि नभनी नहुने हुन्छन् ! अनि कुनै अहिल्यै भन्न पर्ने हुन्छन् ! हल्कारा अहिल्यै भन्न पर्ने बिषय माथि बनेको चलचित्र हो ! नेपाली चलचित्रको इतिहासका लागी एउटा परिपक्व चलचित्र थपिएको छ !’

त्यस्तै अभिनेत्री उषा रजक भन्छिन्– ‘चलचित्र ‘हलकारा’ को  प्रिमियर शो हेर्ने अवसर पाएँ । सुन्दर छायांकन, निर्देशन, अभिनय, कथा । संगीत अझ उत्कृष्ट छ ।  भोलिदेखि नेपालभर रिलिज हुँदैछ, यो मौलिक कथामा आधारित चलचित्र हेर्न सिफारिस गर्दछु ।’

अभिनेता तथा नाट्यकर्मी राजन खतिवडा भन्छन्– ‘मलाई गर्व छ नेपाली फिल्म मेकरमा, जसले यति सुन्दर र अन्तर्राष्ट्रिय स्ट्यान्डर बनाए । फिल्म हल्कारा । म सबैलाई हेर्नको लागि अत्यधिक सिफारिस गर्दछु ।’

समीक्षक अनुप सुवेदी भन्छन्– ‘एउटा उम्दा नेपाली फिल्म । हेर्न छुटाउनुभयो भने पछुताउनु हुनेछ ।’