दिनेश डीसीको लथालिङ्ग अवार्डः पाउने मात्र पुगे, विधा थप्दै भाग पुर्याउँदै
नेपाली फिल्मका अवार्डप्रति आम फिल्मीकर्मीहरुको चासो हराउँदै गएको छ । सामाजिक संजालमा अवार्ड प्राप्त गर्दाको खुशी व्यक्त गर्दै तस्वीर शेयर गरेपनि फिल्मीकर्मीहरु आफै नतिजाबाट खुशी भने भएको पाइदैन । यसैले, अवार्ड समारोहमा अवार्ड लिनेको खडेरी हुन थालेको लामै भयो । अवार्ड दिनेको खडेरी त भनिराख्न नपर्ला ।
कोभिडका कारण थला परेको नेपाली फिल्म क्षेत्रलाई फेरि नयाँ उर्जा दिने भन्दै फिल्मीकर्मी दिनेश डीसीले ४ बर्ष रोकिएको ‘सिने सर्कल अवार्ड’ शुक्रबार आयोजना गरे । दिनेशको यो अवार्डमा उनी वान म्यान जस्तो थियो । कार्यक्रमको म्यानेजमेन्ट गर्ने, फिल्मीकर्मीलाई निम्तो दिनेदेखि कार्यक्रम उद्घोषण गर्ने सबै जिम्मा उनी आफैले लिएका थिए । यसैले, डीसीको दौडधुप अवार्ड समारोहमा हुने नै भयो ।
शुक्रबार उपराष्ट्रपतिको उपस्थिती, केही नाम चलेका कलाकारको आगमन, औषत फिल्मकर्मीको उपस्थितीले पनि दिनेश डीसीलाई अवार्ड गरेकोमा हाई सन्चो त भएको हुनुपर्छ । तर, उनको एकल प्रयासमा आयोजित अवार्ड समारोह न त व्यवस्थित देखियो, न त अवार्ड वितरण नै निष्पक्ष देखियो ।
अवार्ड समारोहमा पुगेका अधिकांश कलाकारहरु आफ्नो पालो कहिले आउँछ भनेर कुरिरहेका जस्तो लाग्थ्यो । अवार्ड पाउने बेला हुन लागेपछि कलाकारहरु हलमा आएर बस्थे र अवार्ड लिन्थे ।
कलाकारको अनुहार हेरेर नै अवार्ड कसले पाउँछ भनेर जो कोहीले भन्न सक्थ्यो । रोचक कुरा त के छ भने, वि.सं २०७७ सालमा डीसीले ‘उत्कृष्ट पर्दाको जोडी’को अवार्ड दिएनन् । तर, वि.सं २०७८ सालमा उनले यो विधा थप गरे र ‘म यस्तो गीत गाउँछु २’बाट पल र पूजालाई अवार्ड दिए । वि.सं २०७९ सालमा पनि यो अवार्ड ‘बाबरी’बाट धिरज मगर र अदिती वुढाथोकीलाई दिइयो ।
१० बर्ष अगाडि रिलिज भएको फिल्म ‘लुट’लाई ट्रेन्ड सेट गरेको भन्दै डीसीले बल्ल यसका निर्देशक निश्चल बस्नेतलाई अवार्ड दिए । जबकी, यसअघि नै यो अवार्ड दिनुपथ्र्यो ।
वि.सं २०७७ मा सर्वाधिक धेरै अवार्ड पाउने फिल्म बन्यो, ‘गोपी’ । ‘गोपी’लाई अवार्ड दिनुको कारण उनी आफैले स्पष्टिकरण दिइरहेका थिए । जबकी, यो बर्षको सर्वाधिक असफल र आलोचना भोगेको फिल्ममा पर्छ ‘गोपी’ ।
यसपटक डीसीलाई अवार्ड वितरण गर्न सजिलो किन पनि भयो भने, अघिल्ला २ बर्षको अवार्डमै उनले वि.सं २०७९ सालमा अवार्डका प्रमुख दाबेदार कलाकारलाई भाग पुर्याइदिएका थिए । ‘बुलबुल’बाट स्वस्तिमा खड्कालाई अवार्ड दिएका कारण वि.सं २०७९ सालमा ‘चिसो मान्छे’को नाम नै आएन । यसैले, यो बर्ष केकी अधिकारीलाई ‘झिंगे दाउँ’बाट अवार्ड दिन उनलाई सजिलो भयो ।
वि.सं २०७९ सालको अवार्डमा उत्कृष्ट निर्देशकको रुपमा डाक्टर कपिल रिजाललाई अवार्ड दियो । तर, यही बर्ष ‘नव–नायक र नव–नायिका’लाई अवार्ड दिनुपर्छ भन्ने आयोजकले विर्सिएको देखियो ।
अवार्ड समारोहमा केकी अधिकारी, पूजा शर्मा, सुरक्षा पन्त, पल शाह, प्रदीप खड्का लगायतका कलाकार पुगे र अवार्ड थापे ।
जेहोस्, कोभिडपछि अवार्ड गर्ने हिम्मत थुप्रै संस्थाहरुले नगरिरहेको समयमा दिनेश डीसी र उनको टिमले फिल्म क्षेत्रमा चहलपहल भने ल्याइदिएको छ । यसका लागि भने आयोजकलाई धन्यवाद भन्नैपर्छ ।
प्रतिक्रिया