सिने सर्कल अवार्डमा हरिवंश र केकी उत्कृष्ट नायक–नायिका
कोभिडका कारण थला परेको फिल्म क्षेत्र विस्तारै उठ्दैछ । गतबर्ष रिलिज भएका ४ दर्जन फिल्ममध्ये आधा दर्जन बढीले लगानी उठाए । यो बर्ष पनि वैशाख महिनामा ८ वटा फिल्म रिलिज भइसकेका छन् । यसरी हेर्दा, अब फेरि नेपाली फिल्मले शिर उठाउन थालेको छ । फिल्म रिलिजको क्रम बढेपछि अवार्ड आयोजनाको क्रम पनि बढेको छ ।
शुक्रबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ‘सिने सर्कल अवार्ड’को आयोजना गरिएको छ । दिनेश डीसी आयोजक रहेको अवार्ड कार्यक्रममा वि.सं २०७७, ७८ र ७९ सालमा रिलिज भएका फिल्मलाई अवार्ड दिइयो । २०७७ र २०७८ सालमा रिलिज भएका फिल्मलाई भने ७ र ८ वटा विधामा मात्र अवार्ड दिइएको थियो ।
यो समारोहमा दुई जना फिल्मीकर्मीलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । नेपाली फिल्म क्षेत्रमा ३ दशक भन्दा लामो समयदेखि मेकअपको विधामा रहेर काम गरिरहेका सन्तु तामाङ र ४ दशक देखि भान्छामा काम गर्दै आएका कुल बहादुर महतलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सन्तु र कुलबहादुरलाई सम्मान पत्र प्रदान गरेका थिए । दुबैलाई ५१–५१ हजार नगद राशि पनि प्रदान गरिएको थियो ।
फिल्मीकर्मीहरुको औसत उपस्थिति रहेको अवार्ड समारोह कस्तो रह्यो ? वितरण गरिएका अवार्डहरूको विषयमा टिप्पणी हामी अर्को समाचारमा गर्नेछौँ ।
समारोहमा वरिष्ठ कलाकारहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नायिकाहरू पूजा शर्मा, केकी अधिकारी, सुरक्षा पन्त, नायकहरू प्रदीप खड्का, पल शाह, सविन श्रेष्ठ, निर्देशक दीपेन्द्र के खनाल, दीपेन्द्र लामा, दीपा श्री निरौला, शोभित बस्नेत, संगीतकार अर्जुन पोखरेल, दीपक शर्मा, एलिस कार्की लगायत पुगेका थिए ।
समारोहमा विभिन्न चरणमा नेपाली फिल्म क्षेत्रमा ट्रेन्ड सेट गरेको भन्दै ट्रेन्ड सेटर अवार्ड पनि वितरण गरिएको थियो । जसमा, भारतीय बजारमा नेपाली फिल्मलाई लैजाने काम गरेको भन्दै ‘प्रेमगीत ३’का निर्देशक सन्तोष सेनलाई अवार्ड वितरण गरियो । यस्तै, ‘छक्का पन्जा’को सिरिजबाट १ अर्ब भन्दा बढीको व्यापार गरेको भन्दै ‘छक्का पन्जा’ टिमलाई अवार्ड वितरण गरियो ।
यस्तै, ‘लुट’ फिल्मबाट नयाँ ट्रेन्ड भित्राएकोमा निर्देशक निश्चल बस्नेलाई अवार्ड प्रदान गरिएको थियो । अस्करमा नेपाली फिल्मलाई लैजान सफल भएकोमा ‘क्याराभान’का निर्देशक इरिक भ्यालीलाई अवार्ड प्रदान गरिएको थियो ।
तीन बर्षमा वितरण गरिएको अवार्ड कसले प्राप्त गरे, हामीले यहाँ सूची तयार पारेका छौँ ।
वि.सं २०७७ सालको अवार्डका विजेताहरुः
१. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा र सामिप्यराज तिमल्सिना(गोपी)
२. उत्कृष्ट छायांकनः मानकृष्ण महर्जन(छिरिङ)
३. उत्कृष्ट सम्पादनः निमेष श्रेष्ठ(साइली)
४. उत्कृष्ट नायकः विपिन कार्की(गोपी)
५. उत्कृष्ट नायिकाः स्वस्तिमा खड्का(बुलबुल)
६. उत्कृष्ट निर्देशक : दीपेन्द्र लामा(गोपी)
७. उत्कृष्ट फिल्म: गोपी
वि.सं २०७८ सालको अवार्डका विजेताहरुः
१. उत्कृष्ट पटकथा दीपेन्द्र के खनाल(आमा)
२. उत्कृष्ट पर्दाको जोडी पल शाह र पूजा शर्मा(म यस्तो गीत गाउँछु २)
३. उत्कृष्ट छायांकनः सौरभ लामा(म यस्तो गीत गाउँछु २)
४. उत्कृष्ट सम्पादन दीर्घ खड्का(आमा)
५. उत्कृष्ट नायक दयाहाङ राई(कबड्डी ३)
६. उत्कृष्ट नायिका सुरक्षा पन्त(आमा)
७. उत्कृष्ट निर्देशक दीपेन्द्र के खनाल(आमा)
८. उत्कृष्ट फिल्म आमा
वि.सं २०७९ सालको अवार्डका विजेताहरुः
१. उत्कृष्ट ट्रेलरः जीवन शाही(प्रकाश)
२. उत्कृष्ट स्टन्टः विश्व घिसिङ(लाखे)
३. उत्कृष्ट नव–निर्देशकः डाक्टर कपिल रिजाल(ह्यारी कि प्यारी)
४. उत्कृष्ट एक्सन निर्देशक रोशन श्रेष्ठ(नालापानी)
५. उत्कृष्ट पाश्र्व गायक रामकृष्ण ढकाल(हिजो आजका कुरा)
६. उत्कृष्ट पाश्र्व गायिका अस्मिता अधिकारी(बाबरी)
७. उत्कृष्ट संगीतकारः दीपक शर्मा(छक्का पन्जा ४)
८. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा ४)
९. उत्कृष्ट पर्दाको जोडी धिरज मगर र अदिति वुढाथोकी(बाबरी)
१०. उत्कृष्ट सम्पादन बनिष शाह र भूपेन्द्र अधिकारी(प्रेमगीत ३)
११. उत्कृष्ट छायांकनः विष्णु कल्पित(झिँगे दाउ)
१२. उत्कृष्ट पटकथा प्रदीप भट्टराई(महापुरुष)
१३. उत्कृष्ट नायक हरिवंश आचार्य(महापुरुष)
१४. उत्कृष्ट नायिका केकी अधिकारी(झिँगे दाउ)
१५. उत्कृष्ट निर्देशक प्रदीप भट्टराई(महापुरुष)
१६. उत्कृष्ट फिल्म महापुरुष
१७. क्रिटिक अवार्ड प्रदीप खड्का(प्रकाश)
१८. उत्कृष्ट अभिनय अवार्ड दिया मास्के(प्रकाश)
प्रतिक्रिया