'हल्कारा' बदल्दिो समयको कथा
फिल्म 'हल्कारा' आज शुक्रबार देखि नेपाल भर प्रदर्शन भएको छ । रिलिजको अघिल्लो दिन हिजो (विहिबार) चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा यस फिल्मका लेखक, निर्देशक तथा सम्पादक समेत रहेका विक्रम सापकोटाले 'हल्कारा' नेपाली समाजको व्यथा समेटिएको कथा भएको बताएका छन् ।
निर्देशक सापकोटाले धैर्यता र आशालाई समेत कथा मार्फत दर्शाउन खोजिएको बताए । घरघरको कथालाई पर्दामा दर्शकले हेर्न पाउने उनको भनाई छ । 'देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई यस फिल्ममा प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ ।’, उनले भने ।
उनले अघि थपे, 'फिल्ममा ९० प्रतिशत भन्दा बढी साउण्ड ओर्जिनल नै राखिएको बताए । संगीत समेत ओर्जिनल नै हो । साराङ्गी र बाँसुरीलाई बढी प्रयोग गरिएको छ । डिजिटल प्लाटफर्ममा मात्रै फिल्म निर्माण हुँदा सिनेमेटिक्स एक्सपेरियन्स घट्दै गएको भनाई उनको छ । उनले राम्रो निर्देशकमा सम्पादन गर्ने कला पनि राम्रो हुनुपर्ने बताएका छन् ।'
यस्तै, फिल्मका मुख्य पात्र नायक महेश त्रिपाठीले 'हल्कारा' आफ्ना लागि महत्वपूर्ण भएको उल्लेख गरे । हुलाकी भूमिकामा अभिनय गरेका उनले अफिसियली आफुले लिड क्यारेक्टर गरेको पहिलो फिल्म भएको बताए ।
'हल्कारा' को स्क्रिप्ट मन परेर नै आफु अभिनयका लागि तयार भएको भनाई उनको छ । हर नेपालीको फिल्म भएकाले पनि दर्शकको साथ मिल्नेमा उनी आशावादी छन् ।
फिल्ममा अहिले सम्म नउठाइएका विषयलाई उठाउन खोजिएको कलाकार त्रिपाठीले दाबी गरेका छन् । त्रिपाठीले यसै फिल्मबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए ।
यो फिल्मले ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट फिल्म र उत्कृष्ट सिनेमेटोग्राफीको समेत अवार्ड हात पारेको थियो ।
चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले, नेपाली परिवेशमा निर्माण भएको फिल्मलाई सबैले माया गर्नुपर्नेमा जोड दिए। उनले हल्काराले आफ्नो गाउँ-ठाउको कथा बुनेको बताउदै राम्रो ठेट नेपाली फिल्मलाई उकास्न सबैले सकारात्मक सहयोग गर्नुपर्ने बताए । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, कास्कीका सचिव सन्तोष बस्यालले गरेका थिए।
हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो फिल्मले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो । फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।
कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्मरमा महेश त्रिपाठी र बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।
फिल्मलाई कास्कीका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा छायाँकन गरिएको हो । पाँच वर्ष अगाडि छायाँकन गरिएको फिल्ममा लगानी अन्य फिल्महरुको भन्दा कम नै भएको जानकारी गराइएको छ ।
प्रतिक्रिया