फ्राइडे रिलिज : हलमा 'हल्कारा', ‘छत्रपति’ र ‘एस्टेरिक्स एण्ड ओबेलिक्स: द मिडिल किङडम’ भिड्दै

फिल्म ‘हल्करा’आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। यस्तै, हलमा अन्य दुई विदेशी फिल्महरू पनि प्रदर्शनमा आएका छन्।

नेपाली फिल्म ‘हल्कारा’ का साथै बलिउड फिल्म ‘छत्रपति’ र हलिउड फिल्म ‘एस्टेरिक्स एण्ड ओबेलिक्सस् द मिडिल किङडम’ प्रदर्शन भएका हुन्।

‘हल्कारा’ अन्तर्राष्ट्रिय अवार्ड हात पारेसँगै चर्चामा रहेको फिल्मको निर्देशन विक्रम सापकोटाले गरेका हुन्। फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिका रहेको छ।

रामकृष्ण पोखरेलले निर्माण गरेको यस फिल्मका लेखक तथा सम्पादक निर्देशक सापकोटा नै हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् ।

फिल्मले एक हुलाकीको कथा भन्छ । गाउँको एक बेरोजगार जड्याँहा व्यक्तिलाई हुलाकीको जागिर मिल्छ । त्यसपछि ऊ चिठी बाँड्न अर्को गाउँको यात्रामा निस्कन्छ । उसले यस क्रममा नयाँ कामको जिम्मेवारी र चुनौतीको सामना गर्नुपर्छ । यसक्रममा व्यक्तिगत कठिनाइ पनि खेप्नुपर्छ । हुलाकीको भूमिकामा महेश त्रिपाठीले अभिनय गरेका छन् । फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गरिएको छ ।

यो फिल्म नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ुबेस्ट लङ्ग न्यारेटिभ फिल्मु बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो । यो फिल्मले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ ।

फिल्ममा महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् ।

यस्तै, वी.वी. विनायक निर्देशित ‘छत्रपति’ फिल्ममा बेल्लमकोंडा साई श्रीनिवास, नुश्रत भरुच्चा र शरद नुसरत केलकरको मुख्य भूमिका छ। यो फिल्म सन् २००५ मा रिलिज भएको साउथ फिल्म ‘छत्रपति’ को हिन्दी रिमेक हो। एसएस राजामोली निर्देशित फिल्ममा प्रभास र शृया सरन लिड रोलमा थिए।

गुइलाउम क्यानेट निर्देशित हलिउड फिल्म ‘एस्टेरिक्स एण्ड ओबेलिक्स: द मिडिल किङडम’ पनि आजबाट हलमा लागेको छ। यस फिल्ममा क्यानेटका साथै गिल्स लेलोचे, भिन्सेन्ट क्यासल, ज्लाटन इब्राहिमोभिकको अभिनय छ।