बिहे पार्टीमा सुमी मोक्तानको तर्क–‘लेहेङ्गाको मुल्य भनेर प्रचार गर्न चाहन्नँ’


नेपाली फिल्मका कलाकारहरुले आफ्नो बिहे वा पार्टीमा लगाउने पहिरनको चर्चा खुबै हुने गर्दछ । केही बर्ष अगाडि नायिका आँचल शर्माले आफ्नो बिहे पार्टीमा लगाएको लेहेङ्गाको मुल्यका कारण खुबै चर्चा भयो । आँचलले १६ लाखको लेहेङ्गा लगाएको खबर सार्वजनिक भएपछि यसले खुबै चर्चा पाएको थियो । 

तर, बुधबार आयोजना गरिएको बिहे पार्टीमा नायिका सुमी मोक्तानले आफ्नो लेहेङ्गाको मुल्य भन्न अस्विकार गरिन् । मिडियाको प्रश्नमा उनले भनिन्–‘म यो लेहेङ्गाको मुल्य खुलाउन चाहन्नँ । किनकी, यो मेरा लागि मुल्यवान छ । मैले एउटा मुल्य भन्दा कोही मान्छेलाई कम लाग्ला, कोहीलाई धेरै लाग्ला । मेरो सोच भनेको दर्शकलाई प्रभावित बनाउने होइन । मैले जुन खालको लेहेङ्गा लगाए पनि म सुमी मोक्तान नै हो । यसैले, यसको मुल्यमा जान उचित हुँदैन । पत्रकारहरुले आफै अड्कल लगाउनुहोला ।’

सोमबार बैबाहिक जीवनमा बाँधिएकी सुमीले बुधबार फिल्म क्षेत्र र राजनीति क्षेत्रका मानिसहरुलाई बोलाएर पार्टीको आयोजना गरेकी थिइन् । उनको बिहे पार्टीमा फिल्म क्षेत्रका फिल्मीकर्मीहरुको उपस्थिती कम थियो । 

सुमीले फिल्म ‘सरौतो’मा मुख्य भूमिकामा काम गरेकी थिइन् । तर, यो फिल्म बक्स अफिसमा खासै नचलेपछि उनको फिल्मी करिअर पनि सुखद तरिकाले अगाडि बढ्न सकेन ।