फिल्म 'हल्कारा' लाई प्रिमियरमा प्रशंसा
भोली शुक्रबार रिलिज हुने फिल्म 'हल्कारा'को हिजो बुधबार साँझ आइ प्लेक्स मल स्थित वान सिनेमाज्मा ग्रान्ड प्रिमियर शो गरिएको थियो । प्रिमियरमा फिल्मीकर्मी र पत्रकार देखि नेतासम्म फिल्मको खुलेरै प्रशंसा गरे । फिल्म हेर्न कास्ट एण्ड क्रिउसँगै प्रतिनिधि सभा सदस्य रघुजी पन्त र ज्ञानेन्द्र शाहीसहित एमाले नेता प्रदीप ज्ञवाली पनि पुगेका थिए ।
फिल्म हेरेर प्रतिक्रिया दिँदै उनीहरुले नेपाली फिल्म क्षेत्रको इतिहासका लागी एउटा परिपक्व फिल्म थपिएको बताए। हरेक घरमा भएको कथा 'हल्कारा'ले सुन्दर तवरले व्यक्त गरेको बताएका थिए ।
हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो फिल्मले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ ।
महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् ।
फिल्मले एक हुलाकीको कथा भन्छ । गाउँको एक बेरोजगार जड्याँहा व्यक्तिलाई हुलाकीको जागिर मिल्छ । त्यसपछि ऊ चिठी बाँड्न अर्को गाउँको यात्रामा निस्कन्छ । उसले यस क्रममा नयाँ कामको जिम्मेवारी र चुनौतीको सामना गर्नुपर्छ । यसक्रममा व्यक्तिगत कठिनाइ पनि खेप्नुपर्छ । हुलाकीको भूमिकामा महेश त्रिपाठीले अभिनय गरेका छन् । फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गरिएको छ ।
यो फिल्म नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा 'बेस्ट लङ्ग न्यारेटिभ फिल्म' बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।
फिल्ममा महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् ।
गत बर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो फिल्मले उत्कृष्ट फिल्मसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।
यो फिल्मर कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो ।
प्रतिक्रिया