दया र मिरुनाको ‘नांगो गाउँ’सँग धिरज–सुहानाको ‘भगवत् गीता’ जुध्ने पक्का


भदौको २९ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले नयाँ प्रोजेक्ट ‘भगवत् गीता’को प्रचार आरम्भ गरेका छन् । 

यसअघि यो फिल्म भदौको १५ गते आउने चर्चा थियो । तर, अब तिजलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति भदौ २९ लाई तोकिएको हो । फिल्मको छायांकन अझै केही बाँकी छ । 

यो फिल्ममा सुहाना थापा, धिरज मगर, विपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । लभ स्टोरी कथामा निर्माण भएको फिल्मलाई उत्कृष्ट बनाएको दाबी निर्माता थापाको छ । 

नेपाली फिल्म क्षेत्रमा सुहाना इन्टरटेन्मेन्ट आफैमा चर्चित ब्यानर हो । दर्शकले यो टिमले बनाएको फिल्मलाई विश्वास गर्दै आएका छन् । यही ब्यानरबाट बनेको फिल्म ‘ए मेरो हजुर ४’ले गतबर्ष सुखद व्यापार गरेको थियो । 

तर, यही मितिमा दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँ’ पनि रिलिज हुँदैछ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म लगायतका कलाकारको अभिनय छ । बक्स अफिसमा लभ स्टोरी र सामाजिक कथामा बनेका २ फिल्मको भिडन्त हुने पक्का भएको छ । यो मितिमा फिल्म ‘अ‍ैँचो पैँचो’ पनि आउने चर्चा छ ।

तर, निर्माणपक्षले फिल्मको प्रदर्शन मिति भने फाइनल गरिसकेको छैन । वुझिएअनुसार, फिल्म ‘भगवत् गीता’को टिजर जेठको २ गते सार्वजनिक गर्ने तयारी निर्माणपक्षले गरेको छ ।