महेश भन्छन्–'हल्कारा' इतिहासको पुनरावृत्ति

यही शुक्रबारबाट फिल्म ‘हल्कारा’ नेपालमा प्रदर्शनमा आउँदैछ । विनोद सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठीले प्रमुख भूमिका निर्वाह गरेका छन् । यो ‘हल्कारा’ले दुरदराजसम्म चिठीपत्र आदानप्रदान गर्ने पात्रको कथालाई देखाउँछ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेको यो फिल्मप्रति अभिनेत महेश आशावादी छन् ।

त्यसो त महेशले पोखराको कास्कीकोटस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययन गरिरहँदा हल्काराकै रुपमा काम गरे । त्यो उनको वास्तविक जीवनको हल्कारा अनुभव थियो । उनको घर नजिकै विद्यालय जाने बाटो हुलाक भएकाले पनि हुलाकका चिठी गाउँ पुर्याउने र गाउँका चिठी हुलाकमा पुर्याउने काम गरे । त्यो उनको पेशा नभएर वाध्यताजस्तै थियो । ‘हुलाकमा बस्ने हजुरबुबाले ‘तिमीहरूको गाउँको चिठी आएको छ, पुर्याइदिनु है’ चिठी दिनुहुन्थ्यो । त्यो चिठी गाउँमा पुर्याउने र कतिपय अवस्थामा पढ्ने काम पनि गरें’, महेश सुनाउँछन् । 

फिल्ममा अभिनय नगर्ने सोच बनाएका महेशले फिल्मको स्क्रिप्ट पढेपछि भने लोभिएको बताए । । ‘स्क्रिप्ट पढिसकेपछि अभिनय गर्न सक्छु भन्दा पनि यो फिल्ममा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । स्क्रिप्ट पढिसकेपछि शीर्ष चरित्रसँग लोभ लाग्यो’ उनी भन्छन् ।

महेशको बुझाईमा हल्कारा आफैंमा सस्पेन्स र विश्वासिलो चरित्र हो । महेश हल्कारासँग गाउँका हरेक मानिसको सूचना हुने भएकाले पनि उसलाई समाजले विश्वास गर्ने बताउँछन् । 

महेशको अनुभवमा वर्तमान पुस्ताले ‘हल्कारा’ अनिवार्य हेर्नुपर्छ । ‘वर्तमान पुस्ता सामाजिक सञ्जाल र इन्टरनेटको युगमा रमाइरहँदा उनीहरुका लागि ‘हल्कारा’ उसबेलाको जीवनशैली देखाउने माध्यम हो । यो इतिहासको पुनरावृत्ति पनि हो’, महेश भन्छन् ।

फिल्ममा महेश त्रिपाठी, बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ ।