नवलको फन्डामा नवुझी बोल्ने नेताहरु


नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार नवल खड्का अहिले मिडियाबाजीमा रमाइरहेका छन् । आफ्नो फिल्म ‘काँडेतार’लाई सेन्सर बोर्डले रोकेको भन्दै नवल मिडियाबाजी गरिरहेका छन् । 

तर, उनले अहिलेसम्म आफ्नो फिल्मको कुन दृश्यलाई सेन्सरले रोक्यो भनेर न त मिडियामा भनेका छन् न त भन्न आवश्यक ठानेका छन् । मात्र, आफ्नो फिल्मलाई सेन्सरले रोक्यो भन्दै उनी खोक्रो राष्ट्रवादको नारा जपिरहेका छन् । रोचक कुरा त के छ भने, उनको यो फन्डामा सहयोगी देशकै चर्चित नेताहरु समेत बनेका छन् । 

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावल, सांसद ज्ञानेन्द्र शाहीले समेत सरकार र सेन्सर बोर्ड विरुद्ध बोले । तर, उनीहरुले न त यो फिल्म हेरेका छन् न त उनीहरुलाई सेन्सरले कुन बिषयमा रोक्यो भन्ने नै थाहा छ । 

नवल खड्काले रोक्यो भनिदिएको भरमा नै नेताहरु मिडियाको अगाडि राष्ट्रियताको कुरा गरिरहेका छन् । 

नवल खड्काले जुन तरिकाले सेन्सरले फिल्मलाई रोक्यो भनेर फन्डा गरिरहेका छन्, सेन्सरले उनले फन्डा गरे जस्तो फिल्मलाई नै चल्न नदिने गरि रोकेको होइन । फिल्ममा समावेश केही यस्ता संवाद छन्, जुन संवादले नेपाल र भारतको सम्बन्धमा खलल पुर्याउँछ । त्यस्ता केही संवाद हटाउन सेन्सरले आग्रह गरेको हो । सेन्सर बोर्डका एक सदस्यले मेरो फिल्मसँग भने–‘नवल खड्काले फन्डा गरे जस्तो सेन्सरले फिल्म नै रोकेको होइन । फिल्ममा गृह मन्त्रालयको मुख्य भवन देखाइएको छ । त्यसरी, फिल्ममा वास्तविक भवन नै देखाउन पाइदैन । त्यसलाई हटाउनुहोस् भनेको हो । अर्को हेलमेट नलगाई बाइक चलाइएको दृश्यमा हेलमेट लगाउनुहोला भनेर लेख्न आग्रह गरेको हो । यस्तै, एउटा संवादले नेपाल र भारतबिचको सम्बन्धमा नै खलल पुर्याउने देखिएकाले त्यो म्यूट गर्न भनिएको हो ।’

यस्तै, सेन्सर सदस्यले अगाडि भने–‘एउटा संवादमा भारतको कब्जामा भुटान छ भनेर बोलिएको छ । अरुको देशको बिषयमा हामीले त्यसरी बोल्न कहाँ पाउँछौ त ? त्यो संवाद काट्न भनिएको हो । यति कुरामै यत्रो हल्ला गर्नुपर्ने कारण केही थिएन । सायद, उहाँले मिडियाबाजी गर्न खोज्नुभएको होला ।’

सेन्सरल म्यूट गर्न वा हटाउन भनेका दृश्य र संवाद फिल्ममा राख्नु तर्कसंगत हुुँदैन । तर, नवलले भने फिल्म नै सेन्सरले नचलाउन भने झै गरि नेतालाई बोलाएर हल्ला गरिरहेका छन् । नेताहरु पनि वास्तविकता नवुझी बोलिरहेका छन् ।