फिल्म ‘काँडेतार’को सेन्सर रोक्ने सरकारको कार्यप्रति भीम रावल देखि ज्ञानेन्द्र शाही सम्मको आपत्ति (भिडिओसहित)

फिल्म सेन्सर बोर्डले फिल्म ‘काँडेतार’को केही दृश्य र संवादलाई लिएर आपत्ति जनाएपछि फिल्म निर्माण पक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सेन्सरको निर्णयको विरोध गरेका छन् । राजनीतिक दलका नेता तथा फिल्मकर्मीको उपस्थिति रहेको कार्यक्रममा दलका नेताले सेन्सर बोर्डको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता भीम रावलले फिल्मको कुन चाहिँ संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको भन्ने विषय प्रष्ट्याउन माग गरे । उनले सरकारले फिल्म प्रदर्शनमा रोक लगाउने भए आफूहरु जनतामाझ गएर सार्वजनिक प्रदर्शन गर्ने चेतावनी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सबैले बसेर फिल्म हेरी आपत्तिको विषय छुट्याउन आव्हान गरे । ‘यदि आपत्तिकै विषय छ भने सेन्सर बोर्डलाई सघाउँला, नत्र यसरी रोक्न मिल्दैन’, उनले भने । यस्तै प्राध्यापक डा. सुरेन्द्र केसीले देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा झनै प्रोत्साहन गर्नुपर्नेमा फिल्म रोकिनु दुःखको कुरा भएको बताए ।

फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले फिल्ममा सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने कुराको उठान गरेको बताए । उनले आगामी जेठ पहिलो साता फिल्मको पुनः सेन्सरको तयारी गरेको खुलाए ।