जेठ ५ मा बौद्ध कथाको 'डाकिनी'

बौद्ध धर्मग्रन्थका देवीको खोजीको कथा समेटिएको फिल्म ‘डाकिनी’ आगामी जेठ ५ गते नेपालमा प्रदर्शन हुने भएको छ । ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ निर्माण कम्पनी षट्कोण आर्टसले फिल्मलाई नेपालमा प्रदर्शन गर्न लागेको हो ।

फिल्मको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ रहेको छ । षट्कोण आर्ट्सका निर्माताहरु रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन् । 

बानियाँका अनुसार रिलिजको दिनको पहिलो शोमा फिल्मका निर्देशकसमेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) को उपस्थिति हुनेछ । उनी बौद्ध धर्मका ठूला गुरुसमेत हुन् । गुरु रिम्पोछेको यो पाँचौ फिल्म समेत हो ।

रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन् । फिल्मलाई जेठ ६ गते शनिबार मूभी लभर्स ग्रुपले विशेष प्रदर्शन गर्दैछ । निर्देशक रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि सञ्चालन गर्दैछन् । आइतबार बौद्धस्थित लिच्छवी हाउसमा ‘बुद्ध र भिखारी’ नाटक समेत मञ्चन हुनेछ ।

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । दुबैले अभिनय गरेको यो पहिलो फिल्म हो । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

रिम्पोछेले सन् १९९९ मा निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । दोस्रो फिल्म ‘ट्राभल्र्स एन्ड म्याजिसियन्स’ पनि निकै चर्चित रह्यो । सन् २०१७ मा उनले बनाएको ‘हिमा हिमा ः सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरियो । २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ विश्वभर निकै पढिएको पुस्तक मानिन्छ । त्यसपछि पनि उनले तीन पुस्तक प्रकाशन गरे ।

तिब्बती मूलका यी भुटानी रिम्पोछेको नेपाल नाता पनि उत्तिकै पुरानो छ । उनले बौद्धको एक गुम्बामा पढेका हुन् । रिम्पोछेले बनाएको पहिलो फिल्म ‘द कप’ भारतीय तिब्बती शरणार्थी शिविरको एक बाल भिक्षुबारे थियो । सन् १९९८ को विश्वकप फुटबलप्रतिको उसको आशक्तिलाई लिएर बनाइएको यो फिल्मलाई समीक्षकले रुचाएका थिए ।