विपिनको स्टारडमः महंगो पारिश्रमिक, कमजोर व्यापार
नायक विपिन कार्की गतबर्ष आफ्नो पारिश्रमिकका कारण बढी चर्चामा रहे । फिल्मकर्मीले पनि विपिनले महँगो पारिश्रमिक लिन थालेको गुनासो गरेका थिए ।
विपिनले फिल्मका लागि ४० लाखसम्म मागेको चर्चा फिल्म क्षेत्रमा खुबै चलेको थियो । एक बलिउड फिल्ममा काम गर्ने पक्का भएपछि विपिनले नेपाली फिल्ममा पनि डिमाण्ड गर्न थालेका थिए ।
तर, विपिनले न त बलिउड फिल्ममा काम गरे न त विपिनको फिल्मले नेपाली बक्स अफिसमा नै सुखद व्यापार गर्यो । गतबर्ष रिलिज भएको फिल्म ‘फूलबारी’को व्यापारलाई नै हेर्ने हो भने पनि विपिनको स्टारडमबाट सन्तुष्ट हुने ठाउँ छैन । फिल्मले वर्ड अफ माउथका कारण ठीकठाक व्यापार गरे पनि इनिसियल रुपमा फिल्म बलियो बनेन ।
यो बर्ष रिलिज भएको फिल्म ‘प्रसाद २’को व्यापारले पनि विपिनको स्टारडम माथि प्रश्न उठेको छ । एउटा हिट फिल्मको सिरिज हो, ‘प्रसाद २’ । फिल्मको व्यापार अहिलेसम्म पनि एक करोड पुग्न सकेको छैन । फिल्मले इनिसियल व्यापार गर्न नै सकेन । यो फिल्मका लागि विपिनले ४४ लाख पारिश्रमिक लिएको चर्चा छ ।
यसअर्थमा, विपिनको नामले पनि फिल्मको इनिसियल व्यापारमा ठूलो फरक पर्नु पर्ने हो । तर, त्यस्तो भएन । विपिनलाई अब यो बर्ष रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा बढी विश्वास छ । यो फिल्म पनि हिट फिल्मको सिरिज भएकाले विपिन सुखद व्यापार हुनेमा विश्वस्त छन् ।
प्रतिक्रिया