‘नालापानी’ निर्देशकलाई प्रश्न–‘इतिहासलाई यसरी नै मार्ने हो ?’
निर्देशक रिमेश अधिकारीले फिल्म ‘नालापानी’ बनाए । नेपालको ऐतिहासिक कथा बोकेको यो विषयलाई उनले गतिलो तरिकाले प्रस्तुत गर्न सकेनन् । फिल्ममा थुप्रै कमजोरी त थिए नै ।
फिल्म हेर्न हलमा दर्शकको उपस्थिति पनि भएन । अर्थात्, एउटा इतिहास बोकेको कथाले समाज र देशलाई कुनै प्रभाव पार्न नै सकेन । यसमा निर्देशकले ठूलो कमजोरी गरेका थिए । फिल्मको प्रस्तुति, निर्माण, कथावस्तुलाई उनले गतिलोसँग प्रस्तुत गर्न नसक्दा दर्शक हलसम्म आउन सकेनन् ।
उनै, रिमेश फेरि फिल्म ‘कोत पर्व’ निर्देशन गर्ने तयारीमा छन् । यो बिषय पनि अति संवेदनशील छ । नेपालको अर्को एउटा इतिहास बोकेको घटना हो यो । यो इतिहासलाई हलुका रुपमा प्रस्तुत गरिनु हुँदैन । यो विषयमा रिमेश आफै कति संवेदनशील छन्, यो उनलाई नै थाहा होला ।
यस्ता खालका फिल्म बनाउनका लागि त्यो समयको सेटअप, भेषभुषा, कलाकारको अभिनयदेखि पात्र चयनमा खुबै ध्यान दिनुपर्छ । अझ, निर्देशकले त यस्तो विषयमा गम्भीर भएर काम गर्नुपर्ने हुन्छ । के यो विषयमा रिमेश तयार छन् त ।
कि, ‘नालापानी’ जस्तै अर्को इतिहासलाई उनले हलुका रुपमा प्रस्तुत गर्न लागेका हुन् । यो विषयमा रिमेश गम्भीर बनून् । ऐतिहासिक विषयलाई हलुका रुपमा बनाउने छुट उनलाई पक्कै पनि छैन ।
प्रतिक्रिया