फिल्म नचलेपछि रिनाशा भन्छिन्–‘म आफै छक्क छु’


बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले अपेक्षित व्यापार गरेन । फिल्मलाई दर्शकले उत्कृष्ट भनेपछि कमाइको मामालामा फिल्म पछि परेको छ । तर, यो फिल्मको निर्माणपक्ष अहिले नै चुप लाग्ने सोचमा भने छैन । फिल्म उत्कृष्ट भएकाले फिल्ममा दर्शक बढ्ने विश्वास निर्माण टिमको छ । 

फिल्मकी निर्देशक रिनाशा राई रानाले आफू नै फिल्म नचलेको देखेर छक्क परेको बताउँछिन् । मिडिया कुराकानीमा उनले भनिन्–‘खै, म आफै पनि फिल्म किन चलेन भनेर छक्क छु । फिल्म हेर्ने सबै दर्शकले उत्कृष्ट भन्नुभएको छ । हामी मात्र होइन, फिल्म हेर्न जाने दर्शक पनि हलमा मानिसहरु नदेखेर छक्क पर्नुभएको छ ।’

रिनाशाले फिल्ममा दर्शक नआउनुको कारण समय रहेको तर्क समेत गरेकी छिन् । उनले, फिल्मको रिलिज मिति नै गलत भयो कि भन्ने सोच आफूमा आएको तर्क गरिन् । रिनाशाले भनिन्–‘सधै एउटै प्रकृतिको फिल्म बनाउन पनि भएन । हामीले यसपटक फरक कथामा फिल्म बनाएका थियौं । हेर्ने दर्शक सबैले उत्कृष्ट भन्नुभएको छ । तर, खै फिल्म नचलेको देखेर मेरो त निन्द्रा नै गायब छ ।’

नायक धिरज मगर र नायिका जसिता गुरुङले पनि फिल्म नचलेकोमा आफूहरु अचम्ममा परेको बताए । तर, नेपालकै पहिलो डान्स ड्रामामा काम गर्न पाउँदा खुशी रहेको उनीहरुको भनाई छ ।

धिरजले भने–‘सबै कुरा बक्स अफिसमा मात्र पनि सिमित हुँदैन । फिल्म हेर्ने दर्शकले हाम्रो मिहिनेतको प्रशंसा गर्नुभएको छ । भोलीका दिनमा नेपालको पहिलो डान्स ड्रामाको कुरा आउँदा हाम्रो फिल्मको नै नाम आउँछ । सायद, यसैलाई उपलब्धी भन्नुपर्छ होला ।’

आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्मले अपेक्षित ओपनिङ गर्न सकेन । यसको निर्माणपक्षले मिडियामा नै यो कुरा स्विकार गरेको छ । तर, दर्शक बढ्नेमा फिल्मको सम्पूर्ण टिम नै आशावादी छ ।