‘कोत पर्व’को कथामा फिल्म बनाउँदै ‘नालापानी’ निर्देशक

फिल्म ‘नालापानी’ निर्देशन गरेका निर्देशक रिमेश अधिकारीले अब नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकान्डको कथामा फिल्म बनाउने भएका छन् । उनले, ‘कोत पर्व’ नाम राखेर फिल्म निर्देशन गर्न लागेका हुन् । यो फिल्मको छायांकन माघको २१ गतेबाट सुरु गर्ने जानकारी दिएका छन् । रिमेशका अनुसार फिल्मको स्क्रिप्टको काम सकिएको छ र इतिहास विद्हरुसँग छलफल गर्ने क्रम जारी छ । 

फिल्ममा नयाँ र पुराना कलाकारको अभिनय रहने उनको तर्क छ । तर, अहिलेसम्म कुनै पनि कलाकार फाइनल नभएको उनले जानकारी दिए । महेश दवाडीले यो फिल्मको कथा लेखेका छन । 

फिल्मलाई नेपाली, हिन्दी र चाइनिज भाषामा तयार पारिने दाबी रिमेशको छ । उनले, फिल्ममा केही बिदेशी कलाकारलाई समेत अभिनय गराउने तयारी भएको जानकारी दिए । फिल्मको पोष्ट प्रोडक्शनको काम मुम्बईको स्टूडियोमा हुनेछ । 

‘कोत पर्व’ नेपालको इतिहासको चर्चित हत्याकाण्ड हो । रानीको विश्वासपात्रको रुपमा रहेका गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरुबिच विवाद हुँदा मच्चिएको हत्काण्डको कथालाई फिल्ममा समावेश गरिनेछ । यो हत्याकाण्डपछि जंगबहादुर राणा प्रधानमन्त्री बनेका थिए ।