‘जवान’ भदौ २१ मा आउँदा नेपाली फिल्मलाई प्रभाव पर्ला ?
नेपाली फिल्मकर्मीले भदौ महिनालाई व्यापारको महिना मान्छन् । भदौमा विभिन्न चाडपर्वहरु पर्ने र सार्वजनिक बिदा हुने भएकाले पनि भदौमा फिल्म रिलिज गर्न फिल्मीकर्मी तछाडमछाड गर्छन् । गतबर्ष पनि फिल्म रिलिजको लामो लाइन भदौमा देखिएको थियो । यो बर्ष पनि भदौमा फिल्मको लाइन लामै देखिने भएको छ ।
तर, यो बर्ष साहरुख खान अभिनित फिल्म ‘जवान’ पनि भदौमा नै रिलिज हुने भएपछि नेपाली फिल्मको रिलिज क्यालेन्डरलाई असर पर्ने देखिन्छ । उसो त, पछिल्ला बर्षमा केही ठूला बलिउड फिल्मलाई छाड्ने हो भने नेपाली फिल्मलाई अन्यले खासै असर गरेका छैनन् । तर, फिल्म ‘पठान’ पछि साहरुखको चुलिदो क्रेज र ‘जवान’लाई लिएर दर्शकमा देखिएको व्यग्रताले पनि व्यापारमा उछाल आउने देखिन्छ ।
भदौको २१ गते अर्थात बिहिबार नै यो फिल्म रिलिज हुनेछ । भदौको १५ गते निर्माता सुनिल कुमार थापाले फिल्म ‘भगवत् गीता’ रिलिज गर्ने तयारी गरेका छन् । विपिन कार्की, धिरज मगर, सुहाना थापा अभिनित यो फिल्मको बजेट पनि उच्च छ । यसैले, यो फिल्मले लगानी उठाउन मात्र पनि २ साताको समय पाउनुपर्छ । तर, यो फिल्म रिलिज भएको ६ दिनमै ‘जवान’ रिलिज हुँदा बक्स अफिसमा पक्कै पनि असर गर्नेछ ।
यस्तै, भदौको २१ गते अहिलेसम्म कुनै पनि नेपाली फिल्म मेकरले फिल्मको प्रदर्शन मिति तोेकेका छैनन् । अब, साहरुखको फिल्म आउने भएपछि यो मितिमा नेपाली फिल्म आउने संभावना पनि कम छ । तर, भदौको २९ गते रिलिज हुन लागेको ‘नांगो गाउँ’लाई पनि साहरुखको फिल्मले केही असर गर्ने देखिन्छ ।
यही मितिमा कृषा चौलागाँइको निर्देशनमा तयार भएको फिल्म ‘अैँचो पैँचो’ पनि आउने चर्चा छ । यस्तो अवस्थामा नेपाली फिल्म अझै बढी प्रभावित हुन सक्छ । यसैले, हेर्न बाँकी यो छ कि, बलिउड फिल्म एक्कासी भदौ २१ मा आउँदा नेपाली मेकरले रिलिजको क्यालेन्डर कसरी मिलाउनेछन् ।
प्रतिक्रिया