दर्शकको मागपछि ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन
बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले ३ दिने विकेन्डमा औषत व्यापार गरेको छ । तर, फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तुलाई नयाँ भन्दै प्रशंसा गरेका छन् । यसैले, पनि आगामी दिनमा दर्शकको साथ पाउनेमा निर्माणपक्ष विश्वस्त छ ।
फिल्मको क्लाइमेक्समा भने दर्शकले असन्तुष्टी जनाएका थिए । फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माणपक्षसँग असन्तुष्टी जनाएका थिए ।
अब, दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित फिल्म हेर्न पाउनेछन् । दर्शकको मागलाई ध्यानमा राखेर निर्देशक रेनशा वान्तवा राईले क्लाइमेक्समा परिवर्तन गरेको बताएकी छिन् ।
क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् ।
उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । दर्शकले फिल्मलाई पूर्ण रुपमा मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका छौं ।’
नायक धिरज मगर, नायिका जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्सलाई रुचाउने बताए । नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा तयार भएको यो फिल्म हेरेपछि अधिकांश दर्शकले निर्माण टिमको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए ।
नेपालमा यस्तो शैलीको फिल्म यस अगाडि नबनेको भन्दै उनीहरुले ‘ज्याकीः आई एम ट्वान्टी वान’ जस्ता फिल्म बन्नुपर्ने तर्क गरेका छन् ।
प्रतिक्रिया