आर्शिवादलाई फिल्म क्षेत्रले अवसर दिनुपर्छ

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘नाई नभन्नु ल ६’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । फिल्मलाई मल्टिप्लेक्सहरुले आइतबारबाट निकै कम शोज दिएका छन् । शुक्रबार र शनिबार पनि फिल्मले दर्शकको साथ पाउन सकेन । 

विकासराज आचार्यको निर्देशनमा तयार भएको यो फिल्मको कमजोर व्यापार र कमजोर समीक्षाले सबैभन्दा बढी घाटा फिल्मका नव–नायक आर्शिवाद क्षेत्री र नायिका आँचल शर्मालाई भएको छ । 

यो फिल्मबाट फिल्म क्षेत्रमा जम्ने आर्शिवादको सोचमा धक्का लागेको छ ।  तर, फिल्ममा उनले निर्वाह गरेको भूमिका र उनको कामलाई कमजोर भनिहाल्न मिल्दैन । 

आर्शिवादले फिल्म क्षेत्रमा अझै अवसर पाउनुपर्छ । किनकि, उनीमा स्टार बन्ने गुण छ, तर पहिलो फिल्ममा निर्देशकले उनीबाट काम निकाल्न सकेका छैनन् । 

आर्शिवादको एक्सन र डान्समा निर्देशक बढी केन्द्रित छन् । आर्शिवादले आफ्नो संवादमा सुधार गर्नुपर्छ । अभिनयमा पनि उनले धेरै कुरा सिक्न आवश्यक छ । तर, उनले आफूलाई सुधार गरेको खण्डमा उनीबाट एउटा उत्कृष्ट काम निकाल्न सकिन्छ ।

नेपाली फिल्म क्षेत्रमा अहिले नायकहरूको अभाव छ । यस्तो समयमा आर्शिवाद नेपाली फिल्म क्षेत्रमा सम्भावना बोकेर आएका छन् । फिल्म असफल भए पनि उनको सम्भावनालाई भने कमजोर आङ्कलन गर्न हुँदैन ।