'जारी'को अगाडि तीन फिल्म गुमनाम

गत वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’को दबदबा हलमा कायमै छ । शनिबार नयाँवानेश्वरस्थित वान सिनेमाज्मा ८५ प्रतिशत दर्शकले ‘जारी’ हेरेका थिए । फिल्म हेर्न आउने अधिकांश अनुहार युवा थिए । खास गरी कतिपय दर्शकहरु वृद्ध आमाबुवा लिएर नै हलमा फिल्म हेर्न आएका थिए ।

मेरो फिल्मले हल निरिक्षण गर्दा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘केदीको पत्र’को तुलनामा ‘जारी’को अकुपेन्सी तेब्बर उच्च थियो । हलको व्यवस्थापनका अनुसार ‘नाइँ नभन्नू ल ६’मा भन्दा ‘प्रसाद २’मा दर्शकको फ्लो केही बढी छ । ‘पहिला प्रसादले जुन किसिमको माउथ पब्लिसिटी पाएको थियो, प्रसाद २ मा त्यो देखिएन’,हल व्यवस्थापन स्रोतले भन्यो, ‘बरु जारी हेर्ने संख्या उल्लेख्य छ । प्रदर्शनको १६ औं दिनमा पनि जारीमा दर्शकको क्रेज उत्साहजनक छ ।’

लिम्बु संस्कृतिमा आधारित जारी प्रथाको कथावस्तु समेटिएको फिल्मले दर्शकलाई हलमा राम्रै तानेको छ । ‘फिल्मको बारे समाचार र समीक्षा पढेपछि मात्र हामी फिल्म हेर्न आएका हौं’, फिल्म हेर्न आएका एक जोडीले भने, ‘समाचार र समीक्षा भन्दा फिल्म अब्बल लाग्यो । न प्रेम प्रस्ताव न कुनै फाइट, न  लामो संवाद नै । फिल्मको कथाले मज्जाले छोयो ।’

फिल्म प्रदर्शन भएपछि फिल्मका निर्माता, निर्देशक, कलाकारले फिल्मको बक्सअफिस अथवा हल अकुमेन्सीको तस्वीर सामाजिक सञ्जालमा राख्ने गर्दछन् । तर ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘कैदीको पत्र’को हकमा यो अवस्था केही देखिएन ।

चैत २४ गते रिलिज हुने घोषणा गरिएको फिल्म ‘प्रसाद २’ र वैशाख १ गते रिलिजको घोषणा गरिउको फिल्म ‘नाइँ नभन्नू ल ६’ ले अन्तिम समयमा आएर प्रदर्शन मिति सार्नुले पनि त्यसको असर बक्सअफिसमा परेको फिल्मकर्मीको बुझाई छ ।