'नाइँ नभन्नु ल ६' बाट को-कोले गर्दैछन् यस पटक 'डेब्यु'
हिट फिल्मको सिरिजमा गनिने फिल्म हो 'नाइँ नभन्नु ल' । यसको यति बेला सिरिजको रुपामा ६ भाग सम्म आइपुगेको छ । हुन त निर्देशक विकाशराज आचार्यले 'नाइँ नभन्नु ल' नवौँ शृङ्खलासम्म बनाउने सक्ने विचारमा रहेको केही वर्ष अघि बताएका थिए ।
बाल प्रेमलाई निकै सुन्दर ढंगबाट प्रस्तुत गर्न सफल भएका आचार्यले निर्देशन गरेको यो फिल्मका अघिल्लो शृङ्खलाबाट थुप्रै कलाकारहरू आफ्नो करियरको सुरुवात गरेर यति बेला स्थापित भइसकेका छन् । जसमा ‘नाइँ नभन्नु ल २’ बाट वर्षा सिवाकोटीले आफ्नो नेपाली रजतपटमा प्रवेश गरेकी हुन् ।
यस्तै, 'नाइँ नभन्नु ल ४' मार्फत तीन मुख्य कलाकारको रूपमा पल शाह, वर्षा राउत र आँचल शर्माले डेब्यु गरेका थिए । उनीहरूले ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गराएर आफूलाई राम्रो स्थानमा उभ्याउन सफल भएका छन् ।
यसै गरी, यो 'नाइँ नभन्नु ल' सिरिजको छैटौँ भागबाट मुख्य नायकका रूपमा आशीर्वाद क्षेत्रीले अभिनयमा डेब्यु गर्दै छन् । उनको भाग्य नेपाली फिल्म क्षेत्रमा अरूको झैँ अगाडि चम्किन्छ या चम्किँदैन त्यो त भोलिका दिनबाट थाहा भइनै हाल्ने छ ।
यसै गरी, बाल कलाकारकोरुपमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्व उप्रेतीले डेब्यु गरेका छन् । यस्तै बालकालकारकै रूपमा एभिलिना खड्काले पनि डेब्यु गरेकी छिन् । यस अघि दोस्रो शृङ्खला देखि बाल कलाकारको रूपमा देखिएका अनुभव रेग्मी जसले राम्रो चर्चा पाए । ‘नाइँ नभन्नू ल’ सिरिजको पर्यायझैँ बनेका अनुभव रेग्मी अनुभव यति बेला भने उमेर बढेसँगै यस पटक विशेष भूमिकामा देखिनेछन् ।
विकासराज आचार्यको निर्देशन रहेको फिल्ममा आशीर्वाद क्षेत्री, आँचल शर्मा, सरोज खनाल, योगीशा खत्री र एञ्जल राईको मुख्य भूमिका छ । फिल्म भित्र केकी अधिकारी र प्रियंका कार्की अतिथि भूमिकामा रहेका छन् । फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।
आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता हुन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, रेनिस फागोको कलरिङ, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया