फ्राइडे रिलिज: एकसाथ चार फिल्म भिड्दै
आज शुक्रबारबाट नेपालमा चार फिल्म रिलिज हुँदै छन् । जसमा, प्रसाद २, नाइँ नभन्नु ल ६, पासाङ : इन द स्याडो अफ एभरेस्ट र कैदीको पत्र रहेका छन् ।
ब्रान्ड बोकेका दुई ठूला फिल्म ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ले देशभरका हलमा राम्रो शो पाएका छन् । ‘कैदीको पत्र’ले भने सीमित हल पाएको छ । यो फिल्मलाई प्रमुख हल क्यूएफएक्स च्यानलमा शो नै दिएको छैन । क्यूएफएक्सले भने फिल्म निर्माण पक्षले आफूहरूलाई शो नदिएको आरोप लगाइरहँदा आफूहरूले पनि उनीहरूको कुरालाई मध्यनजर गर्दै शो नदिएको जनाएको छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्म ‘प्रसाद २’ले प्रिमियरमा प्रशंसा बटुलेको थियो । यो फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ । सुशील पौडेलको कथा रहेको यो फिल्म दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेल हो। फिल्म ‘प्रसाद’को सफलता पछि निर्माता सुभाष थापाले निर्देशक सुदर्शन थापालाई लिएर ‘प्रसाद २’ बनाएका हुन् ।
त्यसैगरि,‘नाइँ नभन्नू ल’ नेपाली फिल्ममा हिट सिरिजमा गनिने फिल्म हो । विकासराज आचार्यको निर्देशन रहेको फिल्ममा आशिर्वाद क्षेत्री, आँचल शर्मा, सरोज खनाल, योगीशा खत्री र एञ्जल राईको मुख्य भूमिका छ । ‘नाई नभन्नू ल’ सिरिजको पर्यायझैं बनेका अनुभव रेग्मी भने यस पटक बिशेष भूमिकामा देखिनेछन् । फिल्म भित्र केकी अधिकारी र प्रियंका कार्की अतिथि भूमिकामा रहेका छन् । फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।
यस्तै, कैदीको पत्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन्। प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले ब्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको छ । बैरागको नै कथा र संवाद रहेको यो फिल्म साहित्यकार ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’ मा आधारित छ।
फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।
‘पासाङ’ पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर आरोहण गरिन् भन्ने कथावस्तुमा यो डकुमेन्ट्री बनेको छ ।
यी चारै फिल्मको अग्रिम टिकट बिक्री दुई दिनअघिदेखि खुलेको थियो । तर चारै फिल्मको अपेक्षित बुकिङ देखिएको छैन । तर, प्रसाद २ लाई मल्टिप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् ।
क्यूएफएक्सले ‘प्रसाद २’ लाई ३४ शो दिएको छ । ‘नाइँ नभन्नु ल ६’ लाई १८ शो दिएको छ । ‘पासाङ’ले ५ शो पाएको छ ।
वान सिनेमाजले क्रमस ८ शोज ५ शोज २ शोज २ शोज दिएका छन् भने यस्तै विग मुभिजले प्रसाद २ लाई चार शो नाइँ नभन्नु ल ६ लाई दुई शो र पासाङलाई १ शोज दिएको छ भने कैदीको पत्रलाई कुनै पनि शो दिएको छैन ।
विएसआर मुभिजले प्रसाद २ लाई ४ नाइ नभन्नुल ६ लाई २ पासङलाई १ र कैदिको पत्रलाई १ शो दिएको छ ।
चावहिलमा रहेको एफक्यूबले फिल्म ‘प्रसाद २’लाई ४ शोज उपलब्ध गराएको छ भने ‘नाई नभन्नु ल ६’लाई २ शोज कैदिको पत्र र पासाङलाई सम्मान एक-एक शोज उपलब्ध गराएको छ ।
यसरी हेर्दा देशभरका हलमा ‘प्रसाद २’ले ६० र ‘नाई नभन्नु ल ६’ले ४० प्रतिशत शोज पाएका छन् ।
तेश्रो हप्तामा पनि ‘जारी’माथि प्रदर्शकको विश्वास घटेको छैन । बैशाख १ गते देखि तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘जारी’ले सबैभन्दा धेरै ३५ शो पाएको छ ।
प्रतिक्रिया