५५ हजार पुरस्कारसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’को घोषणा


चलचित्र पत्रकार संघ, नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । आज चलचित्र विकास बोर्डको हलमा आयोजना भएको कार्यक्रममा संघका अध्यक्ष समीर बलामीले रंग पत्रकारितामा २५ बर्ष बिताएका र १५ बर्ष निरन्तर रुपमा चलचित्र पत्रकार संघ, नेपालको सदस्य रहेका पत्रकारलाई यो सम्मान यसै बर्षदेखि प्रदान गर्ने घोषणा गरे । 
यो पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ । साथै, चलचित्र विकास बोर्डको सभा हलमा आयोजित कार्यक्रममा वि.सं २०८० सालको क्यालेन्डर समेत सार्वजनिक गरिएको छ । विकास बोर्डका अध्यक्ष भुवन केसीको साथमा विभिन्न संघ संस्थाका अध्यक्षहरुले नयाँ बर्षको क्यालेन्डर सार्वजनिक गरेका थिए । 
चलचित्र पत्रकार संघ, नेपालले हरेक बर्षको जेठ ७ गते ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमको आयोजना गर्दै आएको छ । यो बर्ष पनि २  जना पत्रकारलाई सम्मान, २ जना पत्रकारलाई ५१ हजार राशीसहितको पुरस्कार, एक जना मोसफसलका पत्रकारलाई २५ हजार नगदसहित पुरस्कृत गर्ने तयारी गरिएको छ । यस्तै, एक जना पत्रकारलाई ल्यापटपसहित ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गरिनेछ ।