प्रकाश सपुत र देवी घर्तीको स्वरमा फिल्म ‘हल्कारा’को गीत सार्वजनिक

फिल्म 'हल्कारा'को 'जीवन कठै बरी' बोलको गीत सार्वजनिक भएको छ। वैशाख २९ गते रिलिज हुने फिल्मको गीतमा गायक प्रकाश सपुत र गायिका देवी घर्तीको आवाजमा सार्वजनिक गरिएको हो । जसमा केही संवादहरू समेत राखिएको छ। 

गीत तथा संवादहरूले मार्मिक रुपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्साएको छ। यस गीतमा प्रकाश सपुतले नै शब्द तथा संगीत दिएका छन्।

गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस फिल्मले प्रस्तुत गर्छ । यो फिल्म पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक रहेको निर्देशक सापकोटाले बताएका छन् । 

फिल्ममा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो फिल्मले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट फिल्म बनिसकेको छ ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

यस फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । यो फिल्मलाई कालिपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ ।

यो फिल्मले सबैभन्दा पुरानो फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ फिल्मको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्टिवलमा  महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले  उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र  यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।