भुवनले आफ्नै हो भन्दा पूजाले भनिन्–‘यो त सब भन्ने कुरा न हो’


निर्माता तथा निर्देशक भुवन केसी र नायिका पूजा शर्माको सम्बन्ध पनि अजिबको छ । उनीहरुले सार्वजनिक कार्यक्रममा एक अर्काको मुक्तकण्ठले प्रशंसा गर्छन् । तर, यी दुईबिच फिल्मको पर्दामा सहकार्य भने हुन सकेको छैन ।

सुदर्शन थापा र पूजा शर्माको टिमसँग भुवन केसी र अनमोल केसीले सहकार्य गर्ने भनेको पनि धेरै बर्ष भैसकेको छ । तर, बारम्बार यो सहकार्य नतिजामा परिणत हुन सकेको छैन । 

पुजा र सुदर्शनले नायक अनमोल केसीलाई मुख्य भूमिकामा राखेर फिल्म बनाउने तयारी गरेका थिए । तर, अब यो फिल्म बन्नेमा शंका नै छ । किनकी, अनमोल र पूजाले तत्काल फिल्म नबनाउने निर्णय गरिसकेका छन् । श्रोतका अनुसार, अनमोलले फिल्मका लागि लिएको १० लाख रुपैयाँ पनि फिर्ता गरिसकेका छन् । 

सोमबार आयोजना भएको फिल्म ‘प्रसाद २’को प्रिमियर कार्यक्रममा पुगेका नायक भुवन केसीले सुदर्शन थापाको प्रशंसा गरे । सुदर्शनसँग सहकार्य गर्न आफू जहिले पनि तयार भएको उनको भनाई थियो । 

पूजासँग कहिले काम गर्ने त भनेर पत्रकारले सोधेको प्रश्नमा भुवनले–‘पुजा त आफ्नै हो, जहिले पनि काम गर्न तयार छु’ भनेर जवाफ दिए । भुवनले यस्तो जवाफ दिदै गर्दा पुजाले भने–‘यो त सब भन्ने कुरा न हो’ भन्दै जवाफ फर्काएकी थिइन् । 

पुजाले यसो भनेपछि भुवनको अनुहार कालो भएको थियो । पुजाको जवाफ सुनेपछि नजिकै रहेका शोभित बस्नेतसँग पुगेर भुवनले पुजाले भन्न खोजेको कुराको अर्थ के हो भनेर सोधेका थिए । 

पुजासँग सहकार्य यसपटक पनि टरेको छ । यसैले, भुवनले बाहिर जे भनेपनि भित्र भित्र आफूहरुसँग सहकार्य गर्न नचाहेको वुझाई पूजाको छ ।