‘प्रसाद २’ हेरेपछि शोभितको प्रतिक्रिया–‘अर्पणलाई ५० लाख पारिश्रमिक दिए हुन्छ’
आज बेलुकी गरिएको प्रिमियरमा फिल्म ‘प्रसाद २’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुतिलाई फिल्मीकर्मी र मिडियाकर्मीले उत्कृष्ट भनेका छन् । सुशिल पौडेलको लेखनको सबैले तारिफ गरे । राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत र ब्याग्राउन्ड स्कोरको पनि तारिफ भएको छ ।
फिल्म हेरेपछि निर्देशक शोभित बस्नेतले कलाकार अर्पण थापालाई ५० लाख पारिश्रमिक दिन आग्रह गरे । उनले भने–‘यो फिल्म हेरेपछि म के भन्न सक्छु भने, यहाँ नामकै कारण केही कलाकारले ५० लाख लिएका छन् । तर, कामको आधारमा अर्पण थापालाई ५० लाख पारिश्रमिक दिनुपर्छ । अर्पणको काम गज्जब छ ।’
शोभितले फिल्मको प्रिमियर ५ दिन अगाडि गर्दा आफू डराएको बताउँदै निर्देशक सुदर्शन थापाले उत्कृष्ट फिल्म बनाएको बताए । उनले, लभ स्टोरी फिल्ममा जमेका सुदर्शनले सामाजिक कथामा पनि उत्कृष्ट फिल्म बनाएको भन्दै खुलेरै प्रशंसा गरे ।
यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि सुदर्शनले हरेक किसिमको फिल्म उत्कृष्ट बनाउन सक्ने भन्दै प्रशंसा गरे । हरेक कोणबाट फिल्म उत्कृष्ट बनेको उनको भनाई थियो ।
वैशाखको १५ गतेबाट रिलिज हुन लागेको फिल्मप्रति आम दर्शकलाई र फिल्मीकर्मीलाई आशा थियो । तर, फिल्मको प्रिमियरपछि फिल्म हेर्न दर्शकको कौतुहलता झनै बढ्ने पक्का छ ।
प्रतिक्रिया