नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा अभिनेत्री मिरुना नियुक्त, महोत्सव वैशाख १५ देखि १७ सम्म हुने

द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालले ‘सबैका लागि मानवअधिकार उत्सव’ नाराका साथ नेपाल युरोपियन युनियन फिल्म महोत्सवको पहिलो चरण सुदुरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही वैशाख १५ देखि १७ सम्म हुने भएको छ । 

महेन्द्रनगरपश्चात दोस्रो चरणमा फेस्टीभल बैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ । यस संस्करणको अन्तिम प्रदर्शनी काठमाडौको चाबहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैखाख २९ देखि जेठ १ सम्म आयोजना हुनेछ ।

‘यो वर्ष मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष भएको छ । यसै सन्दर्भमा आयोजकले महोत्सवका लागि ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने नारा छनोट गरेको हो । यसको उद्देश्य आम मानिसमा उनीहरुको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐश्वयबद्धता निर्माण गर्ने रहेको छ’, नेपालका लागि युरोपियन युनियनकी राजदुत नोना डेप्रेजले बताइन् ।

सुदुरपश्चिम, मध्यपश्चिम र काठमाडौंमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातीप्राप्त निर्देशकले निर्देशन गरेका ८ वटा साथै नेपालका युवा फिल्महरुले उत्पादन गरेका छोटा फिल्महरु प्रदर्शन गरिनेछ । महोत्सवकै दौरानमा युरोपियन युनियन नेपालले मानवअधिकार प्रवर्धनमा फिल्मको भूमिका’ विषयक छलफल पनि आयोजना गर्नेछ । छलफलको सञ्चालन सञ्चार तथा मानवअधिकार विज्ञ प्रतिष्ठा कोइरालाले गर्नेछिन्। यस छलफलमा युरोपबाट फिल्मकै विषयमा लेख्दै आएका स्टनीस्ल्यास इड सहभागी हुनेछन् । छलफल सत्रमा नेपालका फिल्म निर्माता तथा निर्देशक अरुण डेओ जोशी र फिल्म अध्ययनमा लामो अनुभव भएका डा. सचिन घिमिरे पनि सहभागी हुने यस छलफल कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा वैशाख ३० गते दिउँसो ३ देखि ४.३० सम्म सञ्चालन हुनेछ ।

अर्को छलफल ‘फिल्मको प्रशंसा फिल्मलाई कसरी बुझने र प्रशंसा गर्ने?’ भन्ने विषयमा हुनेछ । यसको सञ्चालन चर्चित फिल्म निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् । गोगजु सन् २००० देखि चलचित्र निर्माण र शिक्षण पेशामा आवद्ध छन् र थुप्रै अवार्ड समेत प्राप्त गरेका छन् । यो छलफल सोही दिन अर्थात बैशाख १७ गते सुदुरपश्चिम विश्वविद्यालयको हलमा दिउसो ११ देखि १२ बजेसम्म आयोजना हुनेछ ।

यस्तै मध्यपश्चिम विश्वविद्यालयको हलमा यही विषयमा बैशाख २० गते दिउँसो ३.४५ देखि ४. ४५ सम्म आयोजना हुनेछ ।

सुदुरपश्चिम, मध्यपश्चिम र काठमाडौं तीनवटै ठाउहरुको महोत्सवको शुरुमा रामेजनद्वारा निर्देशित ’एनी हे नाउ’ भन्ने फिल्मको प्रदर्शनीबाट हुनेछ । यस फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ र यो समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो ।

महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरुमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासले निर्देशन गरेका इनभिजिबल (लिथुआनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन् ।

यसैगरी महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु प्रदर्शन गरिनेछन् । अंकित खड्कीको निर्देशनमा बनेको आई वान्टेड टु बी लाईक माधुरी दिक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिंक पनि प्रदर्शनी गरिनेछन् ।

नेपाली युवा फिल्म निर्माताहरुका अन्य फिल्महरुमा मिन्शो लिम्बुको जुनको, सुनिल पाण्डेको बागवान, पुनम पौडेलको लिभिङ विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको ड्रिफ्टिङ्ग क्लाउडस् रहेका छन् । महोत्सवको क्रममा देखाईने तिनवटा युरोपियन फिल्महरू एनीडे नाउ, मित्र र इमादज चाइल्डहुडमा नेपाली उपशिर्षक पनि हुनेछन् ।

यसवर्षको नेपाल युरोपियन फिल्म फेस्टीभलको ब्राण्ड एम्ब्यासहरको रुपमा नेपालकी चर्चित अभिनेत्री मिरुना मगर रहेकी छिन् ।

द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले यस प्रकारको महोत्सव विगत ११ बर्षदेखि गर्दै आएको छ। युरोपियन युनियनको वार्षिक कार्यक्रमहरुमा यस सांस्कृतिक गतिविधीलाई उच्च महत्व दिइएको छ । यस महोत्वसको सन्दर्भमा हामीले विगतदेखिनै नेपाली दर्शकबाट उत्साहप्रद प्रतिक्रिया पाएका छौं। यस महोत्वसले युरोपीयन र नेपाली फिल्म निर्माता तथा फिल्ममा रुची राख्नेहरुबीच सम्बन्ध र सांस्कृतिक संवादको बाटो खोल्न सहजीकरण समेत गरेको छ ।