वैशाख १५ : ‘जुँगा’ सँगै ‘इज्जत’को लडाइँ

गत वैशाख १ गते थिएटरमा ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ रिलिज भए । ‘जारी’ थिएटर र बक्सअफिसमा हाउसफूल भइरहँदा ‘बिहे पास’ले व्यापारको क्रमलाई निरन्तरता दिइरह्यो । अर्को फिल्म ‘बुलाकी’ भने रिलिजको एक साता नबित्दै हलबाट आफैं उत्रियो । यो फिल्मका निर्माताले हलमा शो नपाएको कारण आफू पछि हट्नु परेको दाबी गरेका थिए । 

फिल्म ‘जारी’को व्यापार जारी नै छ । यसले स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै दर्शकको माया पाएको छ । वैशाख १ मा एकैसाथ तीन फिल्म रिलिज भइरहँदा आगामी शुक्रबारबाट थिएटरमा तीन फिल्म ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘कैदीको पत्र’ थपिँदै छन् । तीन फिल्मको प्रचारप्रसार उल्लेख छैन । तर ब्रान्डको हिसाबले धेरैको चासो ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’प्रति छ ।

फिल्म ‘प्रसाद’को सफलता पछि निर्माता सुभाष थापाले निर्देशक सुदर्शन थापालाई लिएर ‘प्रसाद २’ बनाएका हुन् । अघिल्लो संस्करणका निर्देशक दिनेश राउतले ‘प्रसाद’लाई सिक्वेलको आवश्यकता छैन भनिरहँदा निर्माता थापाले सिक्वेल बनाउने जोखिम मोलेका छन् । यसको विषयवस्तु अहिलेलाई केवल निर्देशक थापा, निर्माता थापा, लेखक सुशील पौडेल र कलाकार युनिटलाई मात्र थाहा छ । तर पनि अघिल्लो फिल्म ‘प्रसाद’को क्लाइमेक्सबाट नै कथा अघि बढेको हुनसक्ने धेरैको बुझाई छ ।

‘नाइँ नभन्नू ल’ नेपाली फिल्ममा हिट सिरिजमा गनिने फिल्म हो । भलै यसका पछिल्ला संस्करणले बक्सअफिसमा सोचेजस्तो व्यापार गर्न नसके पनि निर्माताहरु यो फिल्मबाट घाटामा छैनन् । फिल्मका लेखक तथा निर्देशक विकासराज आचार्य प्रत्येक फिल्ममा कोही न कोही नयाँ कलाकारलाई प्रवेश गराएर आफ्नो ब्राण्ड दर्शकमाझ बेच्ने खुबी भएका निर्देशकका रुपमा चिनिन्छन् । उनले ‘नाइँ नभन्नू ल ६’सम्म आइपुग्दा त्यो कामलाई निरन्तरता दिइरहेका छन् ।

यसपटक ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ सँगै रिलिज हुनुलाई धेरैले प्रतिष्ठाको विषयका रुपमा हेरेका छन् । त्यसो त ‘प्रसाद २’ गत चैत २४ गते नै रिलिजको तयारीमा थियो । तर निर्माता सुभाषविरुद्ध आर्थिक अपचलनको मुद्धा परेपछि फिल्मको प्रदर्शन रोकियो । यसलाई उच्च अदालत पाटनले फिल्म प्रदर्शनमा रोकावट नगर्नु भनी आदेश दिएपछि फिल्मले रिलिजको नयाँ अवसर पाएको हो । फिल्म ‘नाइँ नभन्नू ल ६’ पनि वैशाख १ मै रिलिजको तयारमिा थियो । तर यो फिल्म पनि आर्थिक मुद्धामा परेपछि वैशाख १५ पुग्यो । 

अघिल्ला संस्करणको सफलताले पनि यी दुई फिल्मको बक्सअफिस कलेक्सन कस्तो होला भन्ने कौतुहलता फिल्मकर्मी र दर्शकलाई उत्तिकै छ । किनकी वैशाख १५ यी दुई फिल्मका लागि ‘जुँगा’ सँगै ‘इज्जत’को पनि लडाइँ हो ।