‘प्रसाद २’मा काम नगरेको भए ठूलो पछुतो हुने थियोः केकी अधिकारी


नायिका केकी अधिकारीले फिल्म ‘प्रसाद २’मा काम नगरेको भए आफूलाई ठूलो पछुतो हुने बताएकी छिन् । वैशाखको १५ गतेबाट रिलिज हुन लागेको फिल्मको प्रचारका क्रममा केकीले भनिन्–‘सुदर्शन थापाको बारेमा मैले धेरै सुनेको हो । उहाँसँग काम गर्ने रहर थियो । प्रसाद २ ले त्यो अवसर जुटाइदियो । अहिले फिल्म निर्माण भएर तयार भैसकेपछि हेर्दा मलाई यसमा काम नगरेको भए ठूलो पछुतो हुने थियो भन्ने लाग्छ । सुदर्शनजीले फिल्मलाई गज्जब नै बनाउनुभएको छ ।’

केकीले आफूले काम गरेका थोरै फिल्मले मात्र रिलिजको बेलामा आफूलाई उत्साहित बनाएको र ‘प्रसाद २’ त्यस्तै एउटा फिल्म भएको तर्क गरिन् । 

फिल्ममा ‘नारायणी’ पात्रको भूमिकामा काम गरेकी केकीले फिल्मको कथावस्तु, प्रस्तुति र निर्देशनले दर्शकलाई छुने दाबी गरिन् । उनले भनिन्–‘पोष्ट प्रोडक्शनमा फिल्म हेरेर केही साथीहरुले फोन समेत गर्नुभएको छ । उहाँहरुले फिल्म त गज्जब नै बनेको रहेछ भनेर फोन गरेको देख्दा खुशी लागेको छ । यसरी, फोन मलाई यसअघि कहिल्यै आएको थिएन ।’

केकीले निर्देशक थापासँग अब आफूले बारम्बार काम गर्न चाहेको पनि तर्क गरिन् । उनले, सुदर्शन थापासँग काम गर्न नपाएको भए आफूले आफ्नो करिअर नै अपुरो ठान्ने केकीको तर्क थियो ।