'किसी का भाइ किसकी जान' विश्वभरका ५७०० भन्दा बढी स्क्रिनमा रिलिज, नेपालमा 'जारी' भारी

आज शुक्रबारबाट सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’ प्रदर्शनमा आएको छ ।

सलमान खानको यो फिल्म इदको अवसरमा ईदको एक दिन अगाडि अर्थात् २१ अप्रिल (आज)  रिलिज भएको हो । यही कारणले सलमानको फिल्मलाई फ्यानहरुले उत्सुकतापूर्वक पर्खिरहेका थिए । यो फिल्मले विन्डो टिकटमा दमदार ओपनिङ गर्ने विश्वास गरिएको छ ।

विदेशी मिडियाका अनुसार सलमानको ‘किसी की भाइ किसी की जान’ फिल्म ठूलो परिमाणमा रिलिज भइरहेको छ । भारतमा मात्रै ४५०० भन्दा बढी स्क्रिनमा रिलिज भएको छ । यससँगै हरेक दिन देशभर १६ हजारभन्दा बढी शो देखाइनेछन् । यसबाहेक यो फिल्म १०० भन्दा बढी देशमा रिलिज भएको छ भने, १२ सयभन्दा बढी विदेशी पर्दामा रिलिज गरिएको छ ।

यसरी यो फिल्म विश्वभरका ५७०० भन्दा बढी स्क्रिनमा रिलिज भएको छ । साथै, यो फिल्मले भोली अथात् ईदको दिन कलेक्सनमा ठूलो उछाल ल्याउन सक्ने अनुमान पनि गरिएको छ ।

स्मरण रहोस्, सलमान खान मुख्य अभिनेताका रूपमा लामो समयदेखि ठूलो पर्दाबाट टाढा छन् । यो फिल्मबाट उनले आफूलाई फिल्म इन्डस्ट्रीको सबैभन्दा ठूलो स्टार किन भनिन्छ भन्ने प्रमाणित गर्न खोजेका छन् । सलमानले प्रायः इदको अवसरमा आफ्ना फिल्म रिलिज गर्ने गर्छन् तर केही समययता उनका फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेको छैन ।

फरहाद सामजीले निर्देशन गरेको यो फिल्ममा सलमानका साथमा दग्गुबती वेंकटेश, पूजा हेगडे, जगपति बाबू ,शहनाज गिल, पलक तिवारी, सिद्धार्थ निगम, विनाली भटनागर, राघव जुयाल र जस्सी गिलको लगायतको अभिनय छ ।

नोपालमा पनि रिलिज भएको यो फिल्मलाई मनोज राठीको समुहले भारतीय एक करोड (नेपाली १ करोड ६० लाख) हालेर भित्राएको हो । 

आजै, हलिउड फिल्म ‘ईभिल डेथ राइज’ पनि रिलिज भएको छ । ली क्रोनिनको निर्देशन रहेको यो फिल्म हरर जनरामा बनेको हो । फिल्ममा एलिसा सदरल्याण्ड, लिली सुलिवान, नेल फिशर र मोर्गन डेभिसको मुख्य भूमिका छ ।

यो शुक्रवार नयाँ नेपाली फिल्म भने रिलिज भएका छैनन् । गत शुक्रवार रिलिज नेपाली फिल्म ‘जारी’ले आक्रामक व्यापार गरिरहेको छ । दोस्रो सातामा पनि दयाहाङ राई र मिरुना मगर स्टारर उक्त फिल्मलाई उच्च शो मिलेको छ । ‘किसी का भाई किसी की जान’लाई नेपालका मल्टीप्लेक्सहरुले उच्च शो त दिएका छन् तर केहीमा ‘जारी’भन्दा कम छ । यसपटक सलमानको फिल्मलाई फलामको चिउरा बन्न सक्ने सम्भावना देखिन्छ ।

यस्तै, पहिलो हप्ता आक्रामक व्यापार गरेको नेपाली फिल्म ‘जारी’ले दोस्रो हप्तामा पनि राम्रो कमाई गर्ने निश्चित छ ।