केकी भन्छिन्– ‘प्रसाद २’मा ‘नारायणी’ बन्न पाउनु मेरो सौभाग्य हो’

नायिका केकी अधिकारीले वैशाखको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’मा नारायणी पात्रको भूमिकामा काम गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको बताएकी छिन् । 

फिल्मको प्रचारको क्रममा मिडियासँग कुरा गर्दै केकीले यो भूमिकालाई आफूले गम्भीरतापूर्वक लिएर काम गरेको बताइन् । फिल्म ‘प्रसाद’मा नारायणीको भूमिकामा नायिका नम्रता श्रेष्ठले काम गरेकी थिइन् । तर, यस पटक फिल्मको मुख्य पात्रमा केकीको प्रवेश भयो । 

दर्शकले सिक्वेल फिल्ममा नारायणी पात्रमा केकी फिट होलिन् त भन्ने प्रश्न समेत सोझ्याएका थिए । तर, केकीले यो फिल्मको हरेक सिरिजमा ‘नारायणी’ पात्रमा नयाँ नयाँ नायिका देखिनुपर्ने बताइन् । दर्शकले हरेक सिरिजमा नारायणीको भूमिकामा फरक फरक नायिकालाई देख्ने गरी फिल्म बनाउनुपर्ने उनको भनाई छ । 

केकीले ‘प्रसाद २’ एउटा उत्कृष्ट फिल्म बनेको समेत दाबी गरिन् । यस पटक, फिल्मको कथावस्तु अझै ठुलो आकारमा अगाडि बढेको भन्दै दर्शकलाई छुने दाबी गरिन् । 

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापाको मुख्य भूमिका छ । फिल्ममा सुदर्शन बस्नेतको लगानी छ भने सुभाष थापा फिल्मका प्रस्तुतकर्ता हुन् ।