नेपाल र दक्षिण भारतका फिल्म एकअर्काका ओटीटीमा रिलिज गर्ने सहमति
नेपाल र भारतका फिल्महरु एकअर्काको देशमा रहेका ओटीटी र हलमा रिलिज हुने भएका छन् । चलचित्र विकास बोर्डमा गत आइतबार आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समित २०२३’मा नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच यो सम्झौता भएको हो ।
समिटमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्धिपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे । नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको चर्चा गरे ।
एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन् । उनले नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरिनेछ । यसका लागि आफूहरुसँग १५ देखि १८ वटा ओटीटी प्लेटफर्म रहेको उनले जनाइन् ।
एनएफपीसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय फिल्मलाई नेपाली ओटीटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भैरहेको बताउँदै नेपाली फिल्मलाई केरला र तामिल सहितका दक्षिण भारतीय राज्यमा रिलिज गर्ने योजना रहेको खुलाए ।
एफटीपीसी सचिव पीभीएस बर्माले नेपाल र भारतबीच कला र सांस्कृतिक आदानप्रदान गर्न आफूहरु लागिपरेको बताए । ‘फिल्म आदानप्रदान भनेको व्यवसायको सम्भावना, प्रविधि र कास्ट एण्ड क्रिउ आदानप्रदान पनि हो’ बर्माले भने, ‘फिल्ममार्फत हामी दुई देशबीच प्रशस्त सम्भावना विस्तार गर्न चाहन्छौं ।’
एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ । टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ । समारोहाम अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए ।
प्रतिक्रिया