प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा रिलिज हुने भएको छ। केहि समय अघि ‘गोर्खा : बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको फिल्म अब ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट रिलिज हुन लागेको हो।

अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एस.एन.आर.फिल्म्सले फिल्मको वितरण गर्दैछ। ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदैछ। अनि त्यस पश्चात् युके,अस्ट्रेलिया,दक्षिण कोरिया,तालिवान र जापानमा रिलिज गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित रहेर यो फिल्म निर्माण भएको हो । प्रदीप शाहीको पहिलो निर्देशकीय फिल्ममा आत्म–त्याग, करुणा र मित्रताको कथा बोकेको उनको कथन छ । यो फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । उनकै कथालाई यो फिल्ममा देखाइएको छ । त्यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।

फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।

यो फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स छ । मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता हुन् । प्रदीप शाहीको निर्देशनमा बनेको दोस्रो फिल्म ‘अन्तिम संस्कार’ को पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। चलचित्रको छिट्टै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए।