रामबाबु गुरुङः अरु मेकर भन्दा धेरै अगाडि


निर्देशक तथा निर्माता रामबाबु गुरुङ खासै बोल्दैनन् । कुनै पनि बिषयमा सटिक जवाफ दिने रामबाबु पछिल्लो बर्षयता नेपाली फिल्म क्षेत्रका सबैभन्दा सफल मेकर बनेका छन् । 

२ बर्ष अगाडिसम्म रामबाबुको दिमागमा ‘छक्का पन्जा ३’ले बनाएको १७ करोड ग्रस कलेक्शनलाई तोड्ने सपना थियो । तर, आजको दिनमा उनले बनाएको रेकर्ड तोड्ने सपना केही मेकरको छ । तर, उनले रेकर्डको नयाँ पहाड खडा गरिदिएका छन्, जसलाई तोड्न अन्य मेकरलाई त्यती सहज छैन । 

रामबाबुले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ गतबर्षको मात्र नभएर, नेपाली फिल्म क्षेत्रकै सर्वाधिक कमाई गर्ने फिल्म बन्यो । निर्माणपक्षले उपलब्ध गराएको आँकडा अनुसार यो फिल्मले करिब २२ करोडको ग्रस कलेक्शन नेपाली बजारबाट मात्र गरेको छ । ‘छक्का पन्जा ३’ले बनाएको १७ करोड ग्रसको रेकर्डलाई पार गर्दै रामबाबु धेरै अगाडि बढे । 

गतबर्ष उनले निर्देशन गरेको अर्को फिल्म ‘फूलबारी’ले बक्स अफिसमा औषत कमाई गर्यो । बक्स अफिसमा ३ करोड माथिको व्यापार गरेको यो फिल्मले पनि रामबाबुको करिअरमा एउटा इट्टा थप्ने काम गर्यो । यो बर्षको सुरुवातमै उनले नै निर्माण गरेको फिल्म ‘जारी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । 

रिलिज भएको २ दिनमै ४ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको फिल्मले आज चौथो दिन पनि आक्रामक व्यापारलाई निरन्तरता दिइरहेको छ । 

रामबाबुले यो बर्ष अब ‘डिग्री माइला र कबड्डी ५’ बनाउने तयारी गरेका छन् । बर्षमा ३ वटासम्म फिल्मको निर्देशन र निर्माण गर्ने लयमा दौडिएका रामबाबु अन्य मेकर भन्दा धेरै अगाडि पुगेका छन् । अब, दीपकराज गिरी, प्रदीप भट्टराई, सन्तोष सेन जस्ता मेकरले उनले बनाएको रेकर्डलाई पछ्याउनुपर्ने देखिन्छ ।