उफ् ! ‘मुन्द्रेको कमेडी क्लब’


कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको कमेडी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को विषयवस्तु र प्रस्तुतिको विषयमा हामीले निरन्तर लेखिरहेका छौँ । २ श्रृङ्खला प्रशारण भएर तेस्रो श्रृङ्खलामा अगाडि बढिरहेको यो कार्यक्रम स्तरीय हुनुपर्छ भन्ने हाम्रो धारणा हो । यसैले, हामीले यसको समालोचना गरिरहेका हौँ । 

गत साता नायक दयाहाङ राई र नायिका मिरुना मगर अतिथि भएर पुगेको भाग केही सुध्रिएको थियो । दर्शकले, कार्यक्रमको नाम अनुसार नै कमेडी पाएका थिए । 

तर, फिल्म ‘नाई नभन्नु ल ६’का मुख्य नायक आर्शीवाद क्षेत्री, नायिका प्रियंका कार्की र हाँस्य कलाकार खड्गबहादुर पुन 'खबपु' सहभागी भएको कार्यक्रम फेरि ध्वस्त बनेको छ । 

यो शो हेरिञ्जेल दर्शकलाई हाँसो होइन, निन्द्रा लाग्छ । रमाइलो कुरा त के छ भने, खगेन्द्रले नै यो शोको मजाक बनाइरहेका छन् । शोमै प्रस्तुति दिन अरू कलाकारले पनि हाँस्ने ठाउँ नभेटिएको भन्दै शोको मजाक बनाइरहेका छन् । 

यसलाई कार्यक्रम संचालक जितु नेपालले गम्भीर रुपमा लिनुपर्ने हुन्छ । किनकी, राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रशारण हुने यो शो र एक चर्चित हाँस्य कलाकार होस्ट रहेको कार्यक्रमको विषयवस्तु यति कमजोर हुनु आफैंमा लाजमर्दो कुरा हो । 

जितु नेपालले नेताका पुराना कुरा, प्रचण्डको लामो क्यारिकेचर गरेर झनै दिक्कलाग्दो बनाएका छन् । उनले, प्रचण्डको क्यारिकेचर गर्दा कुनै त्यस्तो हाँस्नलायक विषयवस्तु नै समावेश गर्न सकेका छैनन् । त्यसपछि, अतिथिलाई निमन्त्रणा गरेपछि अगाडि बढेको शोको प्रस्तुति फितलो छ ।

प्रभात लामाको पुण्य गौतमको क्यारिकेचरले पनि दर्शकलाई होल्ड गर्न सकेको छैन । यसैले, चर्चित निर्देशक दिनेश डीसीले निर्देशन गर्ने र जितु नेपालले होस्ट गर्ने यो कार्यक्रमको स्क्रिप्ट सुध्रन आवश्यक छ ।