दयाहाङको पछि–पछि दौडिएको नेपाली फिल्म क्षेत्र


निर्देशक निश्चल बस्नेले जेठको पहिलो साताबाट फिल्म ‘दिमाग खराब’को छायांकन सुरु गर्ने तयारी गरेका छन् । यो फिल्मका लागि उनलाई नायक दयाहाङ राइको समय चाहिएको छ । तर, निर्देशक राम बाबु गुरुङ पनि फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गर्न चाहन्छन् । यदि, राम बाबुले यो फिल्मको छायांकन सुरु गरे पनि निश्चलले केही समय कुर्नुपर्ने हुन्छ । उसो भए के त ?

राम बाबुलाई निश्चलले आग्रह गरेपछि दयाहाङसँग राम बाबु केही महिनापछि मात्र ‘डिग्री माइला’ निर्देशन गर्ने निर्णयमा पुगे । किनकी, उनले निर्माण गरेको फिल्म ‘जारी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । 

नायक दयाहाङ राईको बैशाख १ गते फिल्म ‘बिहे पास र जारी’ रिलिज भए । तर, फिल्म रिलिज भैरहँदा वा यसको प्रमोशनको क्रममा दया फिल्म ‘नांगो गाउँ’को छायांकनका लागि काभ्रेमा थिए । यसैले, उनले यी दुबै फिल्मका लागि निकै गाह्रोसँग समय मिलाए । 

निर्माता किरण नेपालीले दयालाई फिल्म ‘हात्तीछाप’मा साइन गरेको केही महिना भैसक्यो । फिल्म ‘नांगो गाउँ’को छायांकन सकिएपछि उनी आफ्नो फिल्मको छायांकन सुरु गर्न चाहन्छन् । तर, निश्चलले फिल्म ‘दिमाग खराब’को छायांकन सुरु गर्ने भएपछि उनको योजनामा ब्रेक लाग्न सक्छ । 

यी त दयाहाङका तयार हुने क्रममा रहेका फिल्म हुन् । रामबाबुले फिल्म ‘कबड्डी ५’लाई पनि निर्देशन गर्ने तयारी गरिरहेका छन् । 

गतबर्ष ४ वटा फिल्म हिट दिएका दयाहाङको यो बर्षकै सुरुवातमा ‘जारी’ सुपरहिट भैसकेको छ । दयाको लाइनअप हेर्दा कुनै पनि फिल्म असफल होला भनेर सोच्न सकिदैन । 

फिल्म ‘लुट’मा काम गरेपछि दयाहाङ राइको फिल्म क्षेत्रमा एकाएक उदय भएको हो । यो बिचमा उनले नायक आर्यन सिग्देल र जीवन लुइटेलको चकलेटी अनुहारसँग केही बर्ष प्रतिस्पर्धा गरे । फिल्म ‘मेरो एउटा साथी छ’मा आर्यन मुख्य नायक भएर काम गर्दा दया सहायक–कलाकार थिए । 

तर, यो एक दशक सकिएर अर्को दशक सुरु हुँदै गर्दा आर्यन बक्स अफिसमा संघर्ष गरिरहेका छन् भने दयाहाङ राई सुपरस्टार बनेका छन् । आर्यन र जीवनपछि दयाहाङको प्रतिस्पर्धा अनमोल केसी, प्रदीप खड्का, पल शाह जस्ता चकलेटी नायकहरुसँग सुरु भयो । तर, ७० को दशक सकिएर ८० को दशक सुरु हुँदा दयाहाङ राइको पछि पछि फिल्म क्षेत्र दौडिएको छ । 

आजका दिनमा चकलेटी नायकहरु बक्स अफिसमा संघर्ष गरिरहँदा दयाहाङ राइले दर्शकलाई फिल्मको स्वाद नै फेरिदिएका छन् । गतबर्ष रिलिज भएका ‘कबड्डी ४, २ नम्बरी, के घर के डेरा, फूलबारी’ र यो बर्ष रिलिज भएको ‘जारी’को कथावस्तु हेर्दा अब फिल्म क्षेत्रमा काल्पनिक कथा होइन, आफ्नै समाजको कथा बिक्छ भन्ने पुष्टी भैसकेको छ । यो दयाहाङ राई र उनको टिमको कथा भन्ने शैलीले आएको परिवर्तन हो । 

यसो भनिरहदा दयाहाङ राई एक्लै सफल भएका भने होइनन् । नेपाली फिल्मका चकलेटी नायकहरु एकल रुपमा अगाडि बढिरहँदा दयाहाङ राइसँग बलियो टिम छ । रामबाबु गुरुङ, उपेन्द्र सुब्बा जस्ता अर्गानिक कथा भन्ने मेकर उनका मुख्य सारथी हुन् । साथमा, उनीसँगै निश्चल बस्नेत, दीपेन्द्र के खनाल, दीपेन्द्र लामा जस्ता दर्शकले पत्याएका निर्देशकको साथ छ । जसको कथा र दिमागमा दयाहाङ राई आफ्नोपन झल्कने अभिनय गर्छन् र दर्शकलाई यस्तै फिल्म हेर्ने हुटहुटी बढाइदिन्छन् । 

पछिल्लो परिस्थिती हेर्ने हो भने नेपाली फिल्मले अब केही बर्ष दयाहाङ राइको पछि–पछि दौडनुको विकल्प नै छैन । किनकी, ‘जारी’ जस्तो सामान्य कथामा उर्लिएको भेल हेर्दा दयाहाङ राईसँग दर्शकको आत्मियता बलियोसँग गासिएको छ ।

दया फिल्मी पर्दामा जस्ता छन्, बाहिरी दुनियाँमा पनि त्यस्तै छन् । यसैले, दर्शकले पर्दामा दयाको अनुहारमा आफ्नो समाज, भेषभुषा, कला र संकृती र भाषा भेट्छन् । कृत्रिम दुनियाँबाट आफूलाई अलग्गै राखेका कारण पनि दया र उनका फिल्ममा दर्शकको मन बसेको हो । यसलाई एकैचोटी हटाउन अब चकलेटी नायकहरुलाई सहज छैन ।